सहकारी: प्रत्यक्ष रोजगारी सिर्जनामा जोड

समाचार

काठमाडौँ, २४ माघ । एघारबुँदे घोषणापत्र जारी गर्दै दोस्रो साकोस (बचत तथा ऋण सहकारी) शिखर गोष्ठी आज सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. को आयोजनामा ‘एकीकृत साकोस प्रणालीतर्फ ः आज र पछि पनि…’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि यहाँ सुरु भएको गोष्ठी समापनसँगै जारी गरिएको घोषणापत्रमा बचत तथा ऋण सहकारी सञ्चालनमा वित्तीय व्यवस्थापन, वस्तु तथा सेवाको विविधीकरण, रणनीति एवम् व्यावसायिक योजना र मानव संसाधन व्यवस्थापनलगायत आधारभूत नीति तथा कार्यविधिको निर्माण तथा अवलम्बनमार्फत साकोस सञ्चालनलाई व्यवसायिकीकरण गरी समुदायमा उत्कृष्ट सेवा प्रदायकका रूपमा अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख छ ।

समुदायमा पिछडिएका, गरिब तथा विपन्न वर्गलाई बचत तथा ऋण सहकारीमार्फत विशेषतः युवा तथा महिला लक्षित लघुवित्त एवम् कृषि वित्त कार्यक्रम प्रवद्र्धन गरी प्रत्यक्ष रोजगारी सिर्जना हुने कार्यक्रम सञ्चालन गर्ने, बचत तथा ऋण सहकारी अभियानलाई समुदायमा आधारित, सदस्य केन्द्रित, अनुशासित एवम् मर्यादित रूपमा सञ्चालन गर्नका लागि नेफ्स्कुनको अगुवाइमा एकीकृत साकोस प्रणालीलाई अबलम्बन गरिने घोषणापत्रमा जनाइएको छ ।

यसैगरी बचत तथा ऋण सहकारीमा रणनीतिक योजनाको अभ्यास, गुणस्तरवृद्धि र स्तरीकरणका लागि जोखिममा आधारित सुपरीवेक्षण, राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड कार्यक्रमलाई चरणबद्धरूपमा अगाडि बढाउन प्रतिबद्ध रहेको र एकीकरण प्रवद्र्धनमार्पmत बचत तथा ऋण सहकारीका सदस्यलाई गुणस्तरीय र प्रभावकारी सेवाको सुनिश्चितता गरी स्वस्थ, सुरक्षित र सक्षम साकोसको निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहेको जनाइएको छ ।

बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएका विकृति र चुनौतीलाई समाधान गर्नका लागि पल्र्सलगायत उन्नत विधि र प्रविधिको प्रयोग, तरलता व्यवस्थापन, लगानीलाई कृषि तथा उत्पादनमुखी परियोजना केन्द्रित बनाउने र सहकारीलाई गरिब तथा सीमान्तकृत समुदाय विशेषतः युवा महिलाहरूबीच विस्तार गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ ।

साकोस अभियानलाई एकीकृत साकोस प्रणालीमार्फत एकीकृत, गुणात्मक र सशक्त बनाउँदै गरिबी न्यूनीकरणका लागि सामाजिक एकता कायम गरी समृद्ध, स्वावलम्बी र आत्मनिर्भर नेपाल निर्माणका लागि उच्च सङ्कल्प र प्रतिबद्धता जाहेर गरिएको छ ।

मुलुकभरका सहकारी अभियन्ता, अस्ट्रेलिया, क्यानडा, श्रीलङ्का र थाइल्यान्डलगायतका सहकारीविज्ञ, सरकारी तथा सरोकार भएका निकायका ५०० भन्दा बढीको सहभागिता रहेको नेफ्स्कुन सूचना तथा सञ्चार संयोजक कृष्ण पौडेलले जानकारी दिनुभयो ।

आज भएको गोष्ठीमा अस्ट्रेलियाका मार्क वर्थिङटनले साकोस एकीकरण ः सम्भावना र अभियानमा आवश्यकता अनुभूति विषयमा, थाइल्यान्डका इलेनिता भि सान्रोकले ‘साकोस नेटवर्क व्यवस्थापनसम्बन्धी’, सहकारीविज्ञ नवराज सिंखडाले ‘समुदायमा वित्तीय पहुँचका लागि एक औजारका रूपमा वित्तीय साक्षरता’ र सशक्तीकरण तथा विकास केन्द्रका कार्यकारी निर्देशक डा नरहरि ढकालले ‘सहकारीका लागि कृषिवित्त र लघुउद्यम क्षेत्रमा लगानीका सम्भावना र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

समापन कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवं सभासद् केशवप्रसाद बडाल, नेफ्स्कुनका अध्यक्ष ऋषिराज घिमिरे, पूर्वअध्यक्ष मीनराज कँडेल, उपाध्यक्ष डिबी बस्नेत, महासचिव परितोष पौडेललगायतले सहकारीको सुदृढीकरणका लागि सम्पूर्ण सहकारी अभियन्ता लाग्नुपर्नेमा जोड दिनुभयो । रासस

Post Comment