१८ असोज, काठमाडौं । धनगढीका दुर्गा कापडी बसको टिकटका लागि तीन दिनदेखि नयाँ बसपार्क धाएको धायै छन् । त्यहाँका कर्मचारीलाई सोध्छन्, ‘टिकट पाइन्छ ?’ । दैनिक एउटै जवाफ आउँछ, ‘बुकिङ भइसक्यो ।’ ‘व्यवसायीले टिकट बुकिङ खुल्ला गरेको हल्ला त गरे तर कसका लागि हो थाहा भएन,’ उनले भने, ‘तीन दिन धाइसकें छैन भन्छन्, सरकारसँग ‘बार्गेनिङ’ गर्न टिकट लुकाएर राखेका छन् । यो यात्रुलाई दु:ख दिने नियत हो ।’ नयाँ बसपार्कमा भेटिएका यात्रुहरूको एउटै चिन्ता छ, ‘टिकट पाइँदैन कसरी घर जाने ? यसपालिको दसैं घर जान पाइँदैन कि भन्ने लागिसक्यो ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ‘टिकट लुकाएर सरकारसँग बार्गेनिङ गर्न खोजेको’ भन्ने आरोपमात्र भएको दाबी गरे । ‘वास्तवमा टिकट बुकिङ भइसकेका छन्,’ उनले भने, ‘बार्गेनिङ गरेको भन्ने हल्लामात्र हो ।’ दशैंलाई ध्यान दिँदै यात्रुको सुविधाका लागि थप सवारी साधन व्यवस्था गरिसकेको उनले बताए ।
सहज रूपमा टिकट नपाएको गुनासो बढेपछि व्यवसायीले काठमाडौंबाट बाहिरिने यात्रुका लागि थप सवारी साधनको व्यवस्था गरेको सिटौलाले जानकारी दिए । उपत्यका ट्राफिक प्रहरी महाशाखा अनुसार सोमबारदेखि २ सय ३० बस थपिएका छन् । त्यसका साथै मिनीबस तथा माइक्रो बस पनि थपेको सिटौलाले बताए ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाका डीआईजी प्रकाश अर्यालले यसअघि दैनिक ८ सय बस उपत्यकाबाट बाहिरिने गरेको बताए । ‘यात्रुहरूले अब सहजै टिकट पाउँछन् होला, यदि अझै अभाव भए थप बसको व्यवस्था व्यवसायीले गर्नुपर्छ,’ डीआईजी अर्यालले भने, ‘१ हजार ३० वटा बसले पुग्छ होला, नपुगेको जसरी पनि थप्छन् ।