अमेरिकी रक्षामन्त्रीको चेतावनी: कोरियाले आणविक हतियारबाट आक्रमणको प्रयास मात्र गरे व्यापक सैनिक कारबाहीको सामना गर्नुपर्नेछ

अमेरिकी रक्षामन्त्रीको चेतावनी: कोरियाले आणविक हतियारबाट आक्रमणको प्रयास मात्र गरे व्यापक सैनिक कारबाहीको सामना गर्नुपर्नेछ
अमेरिका

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले भनेका छन् कि उत्तर कोरियाबाट आणविक आक्रमणको खतरा घट्नुको साटो झन्–झन् बढिरहेको छ । दक्षिण कोरियाको यात्रामा गएका म्याटिसले कडा चेतावनी दिँदै भने कि उत्तर कोरियाले आणविक हतियारको उपयोगबाट आक्रमण गर्‍यो वा आक्रमणको प्रयास मात्र गर्‍यो भने पनि उसले व्यापक सैनिक कारबाहीको सामना गर्नुपर्नेछ ।

यसैबीच उत्तर कोरियाले दक्षिण कोरियाको माछा मार्नेवाला एउटा डुंगालाई फिर्ता पठाइदिएको छ । उत्तर कोरियाले भनेको छ कि यो डुंगा अवैध रूपमा उसको जल सीमा क्षेत्रमा प्रवेश गरेको पाइएको थियो । दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन् कि उत्तर कोरियाले यस डुंगाका चालक दलका १० सदस्यलाई शुक्रबार रिहा गरिदिएको छ । यो घटना यस्तो समयमा सार्वजनिक भएको छ, जतिखेर यस क्षेत्रको तनाव आफ्नो उच्च स्तरमा पुगेको छ र दुवै पक्षले लगातार सैनिक अभ्यास गरिरहेका छन् ।

समाचार एजेन्सी एपीले अमेरिकी रक्षामन्त्री म्याटिसलाई उद्धृत गर्दै भनेको छ— उत्तर कोरियाले आफ्नो गैरअत्यावश्यक मिसाइल परीक्षण तथा आणविक कार्यक्रमका कारण आफ्ना छिमेकी देशहरू तथा बाँकी संसारका लागि थप खतरा बढाइदिएको छ । उनले अगाडि भनेका छन् कि अमेरिका र दक्षिण कोरियाबीच यस ‘नयाँ संकटकाल’ का लागि सुरक्षा सहयोग तयार छ । वासिङ्टन आणविक हतियार सम्पन्न उत्तर कोरियालाई कहिल्यै स्वीकार गर्न सक्दैन ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस यतिखेर दक्षिण कोरियासित वार्षिक सुरक्षा संवादका लागि राजधानी सियोलमा छन् । नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आफ्नो एसियाली देशहरूको भ्रमणको क्रममा दक्षिण कोरिया जाने तयारीमा छन् ।

पछिल्लोपटक सेप्टेम्बरमा उत्तर कोरियाले आफ्नो छैटौँ आणविक परीक्षण गरेको थियो । जुनचाहिँ उसको अहिलेसम्मकै ठूलो परीक्षण थियो । एक अनुमानका अनुसार यस आणविक बमको क्षमता ५० देखि एक सय २० किलोटनबीचको थियो । ५० किलोटनको बमको आकार सन् १९४५ मा अमेरिकाद्वारा जापानी सहरी हिरोसिमामा खसालिएको आणविकभन्दा तीनगुना ठूलो हुन्छ ।

उत्तर कोरियाले कैयौँ मिसाइल परीक्षण गरेको छ । उसले गत अगस्ट र सेप्टेम्बरमा दुईवटा अन्तरमहाद्वीपीय मिसाइलको परीक्षण गरेको थियो । उसले यी मिसाइल जापानी आकाश हुँदै परीक्षण गरेको थियो । यसपछि दक्षिण कोरियाले आफ्नो सुरक्षाका लागि अमेरिकी मिसाइल प्रतिरक्षा सिस्टम थाडलाई तैनाथ गर्न सुरु गरेको थियो ।

यसै महिनाको सुरुआतमा अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपको जल सीमा क्षेत्रमा एक संयुक्त सैनिक अभ्यास पनि गरेका थिए । यस सैनिक अभ्यासमा लडाकु विमान, विमानवाहक जंगी जहाजलगायत युद्ध सामग्री सम्मिलित गरिएका थिए । यस सैनिक अभ्यासलाई प्योङयाङले विरोध गरेको थियो । उसले यस सैनिक अभ्यासलाई युद्धको पूर्वअभ्यासको संज्ञा दिएको थियो ।

Post Comment