अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनको बिदाइ वक्तव्य

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनको बिदाइ वक्तव्य
अमेरिका

राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा बर्खास्त गरिएको कुरा सामाजिक सञ्जाल ट्विटरबाट थाहा पाएको केही घण्टापछि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले बिदाइ वक्तव्य दिएका छन्।

बेचैन र स्तब्ध जस्तो देखिएका टिलर्सनले स्पष्टताका लागि केही दिनअघि राष्ट्रपति ट्रम्पसँग आफूले कुराकानी गरेको बताए।

तर ट्रम्पलाई उनले धन्यवाद नदिएको अथवा उनका नीतिहरूको प्रशंसा नगरेको कुरा स्पष्ट रूपमा बुझिन्थ्यो।

टिलर्सनले ‘दुःख दिने’ रुसी रवैयाप्रति अमेरिकाले प्रतिक्रिया जनाउनैपर्ने समेत बताए।

उनले विदेश मन्त्रालयका अरू कर्मचारीलाई आफ्नो काम गर्न आग्रह गरे र सीआइएका निर्देशक माइक पोम्पेओले पद नसम्हालेसम्म सहज संक्रमणकालका लागि आफूले काम गर्ने बताए।

नयाँ विदेशमन्त्रीमा संघीय गुप्तचर निकाय सीआइएका निर्देशक माइक पोम्पेओको नियुक्तिबारे अन्तिम निर्णय नभएसम्म वर्तमान उपविदेशमन्त्रीले जिम्मेवारी सम्हाल्नेछन्।

राष्ट्रपति ट्रम्पसँग व्यक्तिगत र नीतिगत मतभेदलाई लिएर टिलर्सनको राजीनामाको कुरा पहिलेदेखि चर्चामा थियो।

तर अचानक र अपमानजनक तरिकाले टिलर्सनलाई गरिएको बर्खास्तीले वाशिङटनलाई स्तब्ध बनाएको छ।

यसअघि ट्रम्पले ट्विटरमा एउटा सन्देश लेख्दै ट्रम्पले रेक्स टिलरसनलाई “उनले पुर्‍याएको सेवाका लागि” भन्दै धन्यवाद दिएका थिए।

नयाँ विदेशमन्त्रीले “एकदमै राम्रो” काम गर्ने पनि ट्रम्पले उल्लेख गरे।

Post Comment