आप्रवासनप्रति आफ्नो प्रशासनले लिइरहेको नीतिको पक्षमा उभिएका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आफूले ‘आप्रवासीहरूको शिविर’ बन्न नदिने बताएका छन्।
ह्वाइट हाउसमा उनले भने, “संयुक्त राज्य अमेरिका आप्रवासीहरूका लागि एउटा शिविर बन्ने छैन्।”
सप्ताहन्ततिर सार्वजनिक तस्वीरहरूमा आवश्यक कागजात नभएका बालबालिकाहरूलाई टेक्ससस्थित तारवार लगाइएको एउटा केन्द्रमा राखिएको देखिन्छ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार निकायका प्रमुखले त्यो अवस्था ‘स्वीकार गर्न नसकिने खालको भएको’ भन्दै ट्रम्प प्रशासनको नीतिको भर्त्सना गरेका छन।
सोमबार राष्ट्रपति ट्रम्पले भने, “हेर्नुस् युरोपमा के भइरहेको छ, अरू ठाउँहरूमा पनि के भइरहेको छ त्यो पनि हेर्नुस्, हामी अमेरिकामा त्यो हुन दिने छैनौँ।”
यसअघि ट्रम्पले लाखौँ आप्रवासीहरूलाई बसोबासको अनुमति दिएर युरोपेली देशहरूले ठूलो गल्ती गरेको बताएका थिए
खासगरी उनले जर्मन चान्सर एंगेला मर्केलको नाम तोकेरै आलोचना गरे।
आप्रवासीसम्बन्धी विषयका कारण जर्मनहरू आफ्ना नेताहरूको विरोधमा उभिन थालेको ट्रम्पको भनाइ छ।
मर्केल आफ्ना आन्तरिक मामिलामन्त्रीसँग आप्रवासी मुद्दालाई लिएर मतभेदमा छिन्।