काठमाडौं, ३ पुस । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी ‘पेप्सीको’लाई नेपालमा बोटलिङ गदैै आएको वरुण बेभरेजविरुद्ध नक्कली भ्याटबिल जारी गरी ६४ करोड राजस्व ठगेको भन्दै मुद्दा दायर गरेको छ । नक्कली भ्याटबिलमा बहुराष्ट्रिय कम्पनीविरुद्ध दायर भएको यो पहिलो ठूलो मुद्दा हो ।
वरुण बेभरेज (नेपाल) लिमिटेडले बहुराष्ट्रिय कम्पनी पेप्सीकोको फ्रेन्चाइज कम्पनीका रुपमा पेप्सी, डायट पेप्सी, ड्यु, मिरिन्डा, सेभेन अप, ट्रोपिकाना स्लाइस, ओट मिल्कलगायत पेय पदार्थ नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ । त्यस्तै आक्वाफिना मिनरल वाटर पनि उक्त कम्पनीको उत्पादन हो ।
पेप्सीको कम्पनीको नेपाल, भारत र श्रीलंकाको बजार हेरिरहेको वरुण बेभरेजले रिटेल, फास्ट फुड, स्वास्थ्य क्षेत्र र घरजग्गामा पनि लगानी रहेको छ । वरुण बेभरेजका संचालक भारतीय नागरिक रभिकान्त जाइपुरिया नै संचालक रहेको अर्को कम्पनी आरजे क्रपले नेपालका विभिन्न स्थानमा हाउजिङहरुसमेत सञ्चालन गरिरहेको छ ।
धापासीमा निर्माण गरिएको पार्क भ्यू होराइजन अपार्टमेन्टमा पनि यही कम्पनीको स्वामित्व छ ।