मिस वर्ल्ड प्रतियोगिताको ६८ औं संस्करण चीनमा आयोजना भइरहँदा नेपालीहरुको ध्यान मिस नेपाल श्रृङ्खला खतिवडामा केन्द्रित छ । विगतका नेपाली प्रतिस्पर्धीहरुको तुलनामा उनीबाट बढी आशा गरिएको छ ।
उनले गाउनमा भएको गल्तीको बारेमा यसरी प्रष्टिकरण दिएकी छन् :
‘मैले चाँदी र मोतीको बुट्टा कुँदिएको न्यूड पिंक कलरको गाउन लगाएकी थिएँ, जुन तिघ्रामा चिरिएको थियो । पछाडिको भागलाई सलले सिंगारेको थियो । मनिष राईले यति राम्रो गाउन बनाउन प्रशस्त समय र प्रयास खर्चिएका थिए । खासगरी पछाडिको भाग मलाई मन परेको थियो । तर, नसोचेको प्राविधिक गल्ती भयो ।
म यो ड्रेस लगाएर राम्ररी हिँड्न सकिनँ । म कुनै अनुभवी र्याम्प मोडल त होइन, तर यो गाउनमा धेरै अभ्यास गरेकी थिएँ । तर, समस्या यो भयो कि कपडा एकदम हलुंगो थियो भने बुट्टा निकै भारी थियो । चीन आउनुभन्दा अगाडि ट्रायल गर्दा यसको लम्बाई छोटो थियो । हामी यसको फेदमा अरु केही लाइन बुट्टाहरु थप्यौं, जसले गर्दा यो झन् भारी भयो ।
मुख्य ब्लन्डर के भयो भने यसमा जडित मोती तथा अन्य सजावटहरु एक अर्कामा जकडिन सक्छन् भन्ने हामीले ख्याल गरेनौं । चिरिएको भागको पछाडिपट्टि कपडा निकै हलुंगो भयो जुन सलमा रहेका बुट्टाहरुसँग जेलियो । यसले गर्दा म र्याम्पमा राम्ररी हिँड्न सकिनँ । अभ्यास गर्दा म बिस्तारै आरामले हिँडेकी थिएँ । तर, र्याम्पमा हाम्रो कोरियोग्राफी फास्ट थियो । पछाडिको सल अल्झिएर मलाई हिँड्न असुविधा भयो ।’
तर डिजाइनर आफैंमा छुट्टै प्रतिस्पर्धा भएकाले यसमा बिग्रदा समग्र प्रतियोगितामा असर नगर्ने श्रृङ्खलाले स्पष्ट पारेकी छन् । उनका अनुसार बेस्ट डिजाइनरको विजेता टप ३० मा पुग्ने व्यवस्था छैन ।