नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माले सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ युट्यूबबाट हटाएका छन् । स्रोतका अनुसार गायक शर्माले सत्तारुढ दल नेकपा निकट युवा संघको दबाबमा गीत हटाएका हुन् ।
गीत भाइरल भएपछि नेकपा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए । शब्द, संगीत र स्वर गायक शर्माकाे आफ्नै रहेको गीतमा देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारजस्ता विषयलाई पशुपतिले गीतमा निकै कडारुपमा प्रस्तुत गरेको थिए ।
शुक्रबार रिलिज भएको उक्त गीतमा प्रयोग भएका केही शब्दमा विवाद सिर्जना गरेकाले आफूले अहिले अपलोड भएको गीत हटाएर परिमार्जन गर्ने उनले बताएका छन् ।
गीतमा के छ ?
व्यंग्यात्मक शैलीमा गीत बनाउन खोजे पनि उनको गीतमा प्रयोग भएका केही शब्द सीधै आक्रमक छन् । जसले गर्दा विशेषत: सत्ताधारी राजनीतिक दल तथा संस्थालाई रुष्ट बनाएको देखिन्छ । शर्माको गीतमा सरकारलाई ‘यमराज’ र राजनीतिक दलका कार्यकर्तालाई ‘कुकुर’ भनेर सिधै सम्बोधन गरिएको छ ।
शर्माकाे गीतका केही अंश-
गणतन्त्र ल्याएँ भन्छन्
फाल्यौँ भन्छन् राजा
त्यही फालेका राजा जस्ता
कयौँ निस्के आज
जनताको मुटुभित्र काँडा कति कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति ।
वाइडबडी जहाज किने रे लुट्नैसम्म लुटे
सुनकाण्ड खै कहाँ पुग्यो, जेलमै छन् कि छुटे
ठूलै नेता भ्रष्टाचारी न नडराउछन् न लुक्छन्,
कार्यकर्ता केही बोल्दैनन् कुकुरजस्तै भुक्छन् ।