काठमाडौँ, २६ मङ्सिर । नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्टिच्यूट (नामी) को आयोजनामा प्रथम नामी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
नामीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर २८ गते आइतबारदेखि सञ्चालन हुने सो प्रतियोगितामा छात्रतर्फ १२ र छात्रामा नौ गरी २१ टोलीको सहभागिता रहने नामीका प्रमुख कार्यकारी अधिकृत योगराज कँडेल शर्माले जानकारी दिनुभयो ।प्रतियोगितामा छात्र टोलीलाई चार तथा छात्रा टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने आयोजकले जनाएका छन् ।
छात्रको समूह ए मा विल्सन एकेडेमी, हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए) र बाबा तथा समूह बी मा ओपल इन्टरनेसनल स्कुल, टेरेसा एकेडेमी र प्यारागन पब्लिक स्कुल रहेका छन् ।यसैगरी, समूह सी मा काष्ठमण्डप विद्यालय, गोल्डेनपिक र सूर्योदय तथा समूह डी मा ओडिसी, डेनेब एकेडेमी र ग्यालेक्सी पब्लिक स्कुल रहेका छन् ।छात्रातर्फ भने ग्यालेक्सी, काष्ठमण्डप, हिम्स, बाबा र भ्याली पब्लिक समूह ए मा छन् भने ज्ञान निकेतन, टेरेसा, हिमालयन विद्या मन्दिर (एचभीएम) र एचएचसीए समूह बी मा छन् ।
प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ पहिलो हुने टोलीले रु २० हजार प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः रु १० हजार र रु पाँच हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा दुवै विधाका ‘मस्ट भेलुएबल प्लेयर’ घोषित हुने खेलाडीलाई एभरेस्ट रेन्जको माउन्टेन फ्लाइटको अवसर प्रदान गरिने आयोजकले जनाएका छन् ।
आगामी पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल जोरपाटीस्थित आयोजककै कोर्टमा हुनेछ । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु २ लाख ८१ हजार खर्च लाग्ने आयोजकको भनाई छ । रासस