सहायता व्यवस्थापन कार्यक्रमसम्बन्धी अन्तर्राष्ट्रिय छलफल सुरु

समाचार

काठमाडौँ, २४ मङ्सिर । वैदेशिक सहायताको तथ्याङ्क अभिलेख राख्न सहयोग गर्ने ‘सहायता व्यवस्थापन कार्यक्रम’ (एएमपी) को सातौँ कार्यशालाको उत्कृष्ट अभ्याससम्बन्धी छलफल आजदेखि नेपालमा सुरु भएको छ ।

डेभलपमेन्ट गेटवे नामक अमेरिकी संस्थाको सहयोगमा अर्थ मन्त्रालयले आयोजना गरेको एएमपीको उत्कृष्ट अभ्याससम्बन्धी तीनदिने छलफल कार्यक्रममा नेपालले तथ्याङ्कको सहायताले नीति निर्माणमा के सहयोग गरेको छ भन्ने प्रस्तुती गरेको छ ।

नेपालले पहिलो पटक आयोजना गरेको उक्त कार्यशालाको उद्घाटनका क्रममा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले एएमपीकै सहयोगमा सरकारले वैदेशिक सहयोगको उचित परिचालन गर्नुका साथै नीति निर्माणमा समेत योगदान दिन सफल भएको बताउनुभयो ।सचिव शर्माले एएमपीकै सहायताले सरकारलाई प्रत्येक वर्ष विकाससम्बन्धी उचित अभिलेख राख्न सहयोग पुगेको बताउँदै विश्वका विभिन्न मुलुक नेपालमा एएमपीको सफल प्रयोगको अध्ययन गर्न आएको जानकारी गराउनुभयो ।

वैदेशिक सहायताको सूचना राख्न सहयोग गर्ने एएमपी प्रणालीको सुरुवात विश्वमा सन् २००७ बाट डेभलपमेन्ट गेटवेले गरेको हो भने नेपालले सन् २०१० देखि यस प्रणालीलाई वैदेशिक सहायताको तथ्याङ्क व्यवपस्थापनमा प्रयोग गरेको हो ।

विश्वमा हाल २७ मुलुकले यस प्रणालीलाई अपनाएर वैदेशिक सहायतासम्बन्धी तथ्याङ्कको व्यवस्थापन गर्दे आएका छन् भने नेपालले यस प्रणालीमा उत्कृष्टता हासिल गरेको गेटवेले जनाएको छ ।कार्यक्रममा नेपालबाहेक टिमोर–लेस्टे, मालावी, तान्जानिया, युगान्डा, कोसोभोलगायत ११ मुलुकका प्रतिनिधिको सहभागिता छ । रासस

Post Comment