मुद्दाको पेसी, म्याद तामेली र अवस्था अब नौ पुनरावेदन अदालतबाट

समाचार

पोखरा, ४ पुस । सर्वाेच्च अदालतमा दर्ता भएका मुद्दाहरूको पेसी, म्याद तामेली र अवस्था अब पुनरावेदन र जिल्ला अदालतबाट पनि जानकारी पाउनसकिने भएको छ ।

पहिलो चरणमा नौ पुनरावेदन र ३१ जिल्लाका जिल्ला अदालतबाट एसएमएस÷अनलाइन सेवामार्फत सेवाग्राहीले जानकारी पाउने भएका हुन् । यस्तो सेवा प्रदान गरिने पुनरावेदन अदालतमा पोखरा, पाटन, जनकपुर, राजविराज, विराटनगर, नेपालगन्ज, महेन्द्रनगर, बुटवल र ती अदालतअन्तर्गतका तीन जिल्ला रहने छन् । यो सेवा सुरु भएसँगै पुनरावेदन अदालत पोखराको कार्यक्षेत्र पर्ने कास्की, स्याङ्जा र तनहुँ जिल्लाबाट मुद्दाहरूको पेसी, म्याद तामेली र अवस्था जानकारी पाउन सकिने छ ।

अबको एक महिनापछि भने देशभर बाँकी पुनरावेदन र जिल्ला अदालतबाट पनि यो सेवा पाइने सर्वाेच्च अदालतका उप–रजिस्ट्रार केदारनाथ पौडेलले जानकारी दिनुभयो । यो सेवाबाट सर्वाेचमा परेको मुद्दाको विषयमा पछिल्लो समय भइरहेको प्रगति वितरण सेवाग्राहीले एसएमएस÷अनलाइनबाट पाउनेछन् । आमनागरिकलाई मुद्दाको रजिस्ट्रेसन, तारिखको मिति, अवस्था र आदेशलगायतका विषयमा छिटोछरितो जानकारी दिनेभन्दै सर्वाेच्च अदालतले पुस १ गतेदेखि नै सेवा सञ्चालन गरेको जनाएको छ ।
यसैबीच, एसएमएस अनलाइन तारिख तथा म्याद तामेली सफ्टवयरसम्बन्धी दुईदिने तालिम पोखरामा शुक्रबारदेखि सुरु भएको छ । सर्वाेच्च अदालतले नयाँ सेवाका बारेमा कर्मचारीलाई जानकारी दिन आयोजना गरेको तालिममा कास्की, स्याङ्जा र तनहुँका २४ जना स्रेस्तेदार कर्मचारीको सहभागिता रहेको छ ।तालिमको उद्घाटन गर्दै पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीश डम्बरबहादुर शाहीले जनतालाई छिटोछरितो न्याय दिन न्यायालयले विषेध प्राथमिकता दिएको बताउनुभयो । रासस

Post Comment