तुलसीपुर (दाङ), ९ पुस । यस वर्ष छवटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् ।
जिल्लाका विकट गाउँमा ती झोलुङ्गे पुल निर्माण हुन लागेका हुन् । पश्चिम दाङको पुरन्धारा गाविसको खैरवटी घाटदेखि फूलबारी गाविस– ८ को तुइसोता खोला र पहाडी गाविस सैघामा झोलुङ्गे पुलको निर्माण हुने बताइएको छ ।बन्न लागेका अधिकांश पुल विकट गाविसका खोलामा रहेका छन् । त्यहाँ भएका गाउँका स्थानीयको मागलाई ध्यानमा राखेर पुल निर्माण हुन लागेको प्राविधिक तथा सामाजिक सहयोग पाएको सेवा प्रतिष्ठान नेपालका अध्यक्ष पदम भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला विकास समितिले पुल निर्माणका लागि जिल्ला परिषद्मा प्रस्ताव राखेको थियो । सोहीअनुरुप जिल्ला विकास समिति दाङको रु दुई करोडको आर्थिक सहयोगमा सेवा प्रतिष्ठान नेपालले यहाँका विभिन्न छ स्थानमा झोलुङ्गे पुल निर्माण गर्न लागेको हो
यस वर्ष फूलबारीमा दुईवटा पुल निर्माण हुने छन् । फूलबारी गाविस–४ र ९ मा त्यसैगरी पुरन्धारा गाविसको खैवटी घाट, सैघा गाविसको मसिना घाट, रामपुर–९ र सोनपुर गाविसको राप्ती नदीको सराभटमा झोलुङ्गे पुल निर्माण हुने बताइएको छ । सो खोलामा पुल भएमा स्थानीयवासीको दैनिकीलाई सहज हुने अपेक्षा गरिएको छ ।
यसअघि दाङमा ४२ वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । रासस