काठमाडौँ, ९ पुस । व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिले काठमाडौँ उपत्यकाका पाँचवटा मालपोत कार्यालयलाई आगामी माघ १ गतेदेखि सूचना प्रविधि प्रणाली अवलम्बन गर्न निर्देशन दिएको छ ।
समितिका सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरका मालपोत कार्यालयलाई भू–सूचना प्रवाह गर्न तथा रजिस्ट्रेसनलगायतका काम गर्न निर्देशन दिएको हो ।बैठकले देशका सबै मालपोत कार्यालयमा उक्त प्रणाली लागू गरी सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको हो । साथै नापी कार्यालयमा समेत उक्त प्रणाली लागू गर्न आदेश दिइएको छ ।
बैठकले आगामी दुई वर्षभित्र सबै मालपोत कार्यालयलाई आधुनिक भू–सूचना प्रविधियुक्त बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ ।सबै मालपोत कार्यालयलाई एकीकृत आधुनिक भू–सूचना प्रविधियुक्त बनाउने सन्दर्भमा विद्युतीय कारोबार ऐनसँग सम्बन्धित समस्या निरूपणका लागि विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गर्न पनि बैठकले निर्देशन दिएको छ ।
गुठी जग्गासँग सम्बन्धित विषयमा यसअघि संसदीय समितिले गरेका अध्ययन, मन्त्रालयले गरेका अध्ययन, त्यससम्बन्धी ऐननियम, अदालतको फैसलालगायत विषयमा अध्ययन गरी एक महिनाभित्र समितिमा प्रतिवेदन पेस गर्न काशीनाथ अधिकारीको संयोजकत्वमा सात सदस्यीय अध्ययन उपसमिति गठन गर्ने निर्णय पनि आजैको बैठकले गरेको छ ।
समितिको अर्को बैठक कृषि विकास मन्त्रालयको प्रगतिमा केन्द्रित रहेर यही पुस १३ गते आइतबार बिहान ८ बजे बस्ने कार्यक्रम छ । रासस