इलाम, १० पुस । नागरिकलाई स्वास्थ्य सेवा लिँदा हुने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले चालु आवदेखि इलामसहित १५ जिल्लामा राष्ट्रिय सामाजिक स्वास्थ्य बिमा लागू गरेको छ ।
पहिलो चरणमा इलाम, बाग्लुङ र कैलाली जिल्लामा कार्यक्रम लागू गरिएको हो । कार्यक्रम लागू भएका जिल्लामा Software (सफ्टवेर) को काम सम्पन्न हुन लागेको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले भन्नुभयो । बिमाका लागि दर्ता सहयोगी छनोट गर्ने प्रक्रिया सुरू गरिएको छ । एक हजार जना बराबर एक जना दर्ता सहयोगी छनोट गरिन्छ । स्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्यका साथ बिमा कार्यक्रम लागू गरिएको हो ।
स्वास्थ्य बिमा कार्यक्रम कार्यन्वयनका लागि स्वास्थ्य मन्त्रालयले निर्देशिकाको मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पेस गरिसकेको जानकारी दिँदै प्रशासक दाहालले भन्नुभयो “मन्त्रिपरिषद्ले स्वीकृत गर्ने बित्तिकै कार्यक्रम सुरू हुन्छ ।” स्वास्थ्य सेवाको पहुँच नपुगेका विपन्न समुदायमा पनि यसको प्रभावकारिता महत्वपूर्ण हुनेछ ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेकालाई कम लगानीमा स्वास्थोपचार दिन यो कार्यक्रम फलदायी हुने स्वास्थ्य मन्त्रालयका उपसचिव सुरेश न्यौपानेले बताउनुभयो । पाँच जनाको प्रतिसदस्य रु ५०० का दरले वार्षिक रु दुई हजार ५०० को बिमा गर्दा एक वर्षसम्म रु ५० हजारसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउनेछन् ।
स्वास्थ्य सेवा लिँदा हुने आर्थिक जोखिम न्यूनीकरण गरी आधारभूत स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको हो । सेवा पाइने हरेक स्वास्थ्य संस्थामा १४० प्रकारका औषधि निःशुल्क प्राप्त हुनेछ । यो सेवा सरकारीको हकमा प्राथमिक स्वास्थ्य केन्द्र भन्दा ठूला स्वास्थ्य संस्थामा र निजीमा ५० शय्या भएको अस्पतालबाट प्राप्त हुनेछ ।
बिमा सम्बन्धी स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय सामाजिक स्वास्थ्य बिमा समन्वय एकाइको अगुवाइमा जिल्लाका स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य व्यवस्थापन समितिका प्रमुख एवम् प्रतिनिधिलाई बुधबार इलाममा आयोजित एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । रासस