काठमाडौँ, ११ पुस । चीन सरकारले निजामती अस्पतालका लागि सहयोगस्वरुप रु २० करोड बराबरको चिकित्सासम्बन्धी उपकरण हस्तान्तरण गरेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसर पारेर आज बिहान अस्पताल परिसरमा आयोजित विशेष समारोहमा हस्तान्तरण गरिएका उपकरणमा एमआरआई, सिटिस्क्यानिङ, एक्सरेललगायत २६ प्रकार रहेको अस्पतालका निर्देशक डा विमलकुमार थापाले जानकारी दिनुभयो ।
नेपाल–चीनबीच सन् २०१२ मा भएको सहमतिका आधारमा सो सहयोग उपलब्ध गराइएको हो । सामान्य प्रशासनमन्त्री लाललबाबु पण्डित र चिनियाँ विदेशमन्त्री वाङको समुपस्थितिमा सामान्य प्रशासन मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
विसं २०६५ चैत १६ गतेदेखि सञ्चालनमा आएको सो अस्पतालले २०६६ माघ ७ गतेदेखि पूर्ण रुपमा सेवा सञ्चालन गरेको थियो । दैनिक ८०० बिरामीलाई सेवा प्रदान गर्दै आएको उक्त अस्पताल १३२ शय्याको छ । चीन सरकारको सहयोगमा रु ६५ करोडको लागतमा सो भवन निर्माण गरिएको थियो ।
सामान्य प्रशासन मन्त्रालय मातहतमा रहेको उक्त अस्पतालले निजामती कर्मचारीका लागि आधा शुल्कमा सेवा दिइरहेको छ । सो अस्पताललाई विस्तार गरी ५०० शय्यासम्मको पु¥याउन नेपाल सरकारले चिनियाँ पक्षसँग कुराकानी गरिरहेको बुझिएको छ । रासस