काठमाडौँ, १३ पुस । राजनीतिक पार्टीहरूले निर्धारण गरेको समयसीमाभित्रै संविधान जारी गरिनुपर्ने र मानवअधिकारसम्मत संविधान बन्नुपर्ने विषयमा जनस्तरबाट पहल गरिनुपर्ने आग्रहसहित मानव अधिकार तथा शान्ति समाजको पहिचान: शान्ति, अहिंसा, सद्भाव र सहिष्णुता विषयक देशव्यापी अभियानको पहिलो चरणमा देशका विभिन्न १४ जिल्लामा कार्यक्रम सम्पन्न भएको छ ।
मङ्सिर २६ गते काठमाडौँस्थित संविधानसभा भवन अगाडि धर्ना कार्यक्रमको आयोजना गरी प्रारम्भ गरिएको यस अभियानअन्तर्गत बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी र गोरखा जिल्लामा कार्यक्रम सम्पन्न भएका छन् ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजले राष्ट्रिय पहिचानका रूपमा अघि सारेको शान्ति, अहिंसा, सद्भाव र सहिष्णुतालाई आधार मानेर मानव अधिकारसम्मत संविधान निर्माणका लागि जिल्लास्तरबाट समेत पहल हुनुपर्नेमा सबैले जोड दिएका थिए । रासस