काठमाडौँ, १३ पुस । सार्वजनिक खरिद अनुगमन कार्यालयको विशेष टोलीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खरिद अवस्थाको अनुगमन गरेको छ ।
सार्वजनिक निकायहरूबाट हुने खरिद कार्यसम्बन्धी गतिविधिको नियमित अनुगमनअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीको उपस्थितिमा मुख्यसचिव लीलामणि पौडेल र सार्वजनिक खरिद अनुगमन कार्यालयका कामु सचिव टङ्कमणि शर्मासहितको टोलीले अनुगमन गरेको हो ।
सो क्रममा मन्त्रालयले अख्तियार गरेका सार्वजनिक खरिदसम्बन्धी रणनीति, खरिद-निर्माणको वर्तमान अवस्था खरिद कार्यको कार्यान्वयनमा आइपरेका समस्या सम्बन्धमा मन्त्रालयका तर्फबाट प्रस्तुतीकरण गरिएको थियो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत औषधि खरिदलगायत अन्य खरिदको अवस्था र चुनौती एवम् समस्याको साथै सार्वजनिक खरिद ऐन, २०६३ र सोसम्बन्धी नियमावली, २०६४ समय सापेक्ष परिमार्जन गर्ने विषयमा समेत छलफल भएको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले राष्ट्रको हित अनुकूल हुने गरी सार्वजनिक खरिदको कार्यमा वैदेशिक सहायता स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो ।मुख्यसचिव पौडेलले लागत अनुमान वास्तविकतामा आधारित हुनुपर्ने भन्दै औषधिलगायतका अन्य मेडिकल सामग्री खरिद गर्दा स्वदेशी उत्पादनलाई प्रबद्र्धनका लागि आवश्यक सर्तहरू प्राथमिकीकरण गरेर समावेश गर्न निर्देशन दिनुभयो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका काम सचिव शर्माले खरिद कार्यमा सम्पूर्ण चरणहरूको योजनाबद्धरूपमा पालना गर्ने र मनसाय गलत नहुने हो भने सार्वजनिक खरिद ऐन र नियमावलीले कठिनाइ सिर्जना नगर्ने बताउनुभयो
स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले मन्त्री, मुख्यसचिव तथा तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फबाट प्राप्त सुझाव तथा निर्देशनको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस