मुस्ताङ, १४ पुस । नेपाल टेलिकम मुस्ताङले जिल्लामा १४ हजार सिम वितरण गरेको जनाएको छ ।
जिल्लाको सबै भू–भागमा सञ्चार सुविधाको पहुँच पुर्याउने नमस्ते र सिडिएमए सिम वितरण गरिएको हो । टेलिकम मुस्ताङका कार्यालय प्रमुख हुमबहादुर भुजेलले जिल्लामा ११ हजार नमस्ते र तीन हजार सिडिएमए गरी १४ हजार सिम वितरण गरिएको जानकारी दिनुभयो । जिल्लाको उपल्लो क्षेत्रमा सिडिएमए र तल्लो क्षेत्रमा नमस्तेका सिम बढी वितरण भएको छ ।
“खासगरी विगत एक वर्षको अवधिमा जिल्लामा बढी सिम वितरण भएको देखिन्छ,” उहाँले भन्नुभयो, “मागको आधारमा सिम वितरण भएपछि सूचना आदानप्रदानमा सहज भएको छ ।”सूचनाको माध्यम नहुँदा लोमान्थाङ, छोसेर, छोण्हुप, चरार्ङ, सुर्खाङलगायतका क्षेत्रबाट जिल्ला तहमा खबर आउन निकै कठिन थियो । एक वर्षदेखि १६ वटै गाविसमा सञ्चार सुविधाको पहुँच पुगेपछि यस क्षेत्रको जनजीवन सहज बनेको छ ।
टेलिकमले सञ्चार सुविधाका लागि १० स्थानमा नमस्ते र ६ स्थानमा सिडिएमए नेटवर्कका लागि मुख्य टावर स्थापना गरेको जनाएको छ । “माग अझै पनि धेरै छ, कार्ययोजना बनाएर वितरण गरिरहेका छौँ,” कार्यालय प्रमुख भुजेलले भन्नुभयो ।
टेलिकमले सिमसँगै एडिएसएल इन्टरनेटको विस्तार गरेपछि सूचना प्रवाहमा सजिलो भएको स्थानीय प्रयोगकर्ताको भनाइ छ । अहिले यहाँ इन्टरनेटको माग बढ्दै गएको कार्यालय प्रमुख भुजेलको जानकारी दिनुभयो । रासस