लम्की (कैलाली), १४ पुस । आइसियू (सघन उपचार कक्ष) सञ्चालनका लागि यहाँ बालबालिकाले एक दिनको खाजा रकमबाट केही रकम कटाई जम्मा गर्ने अभियान सुरु गरेका छन् ।
कैलालीको वौनियामा रहेको नोबेल एकेडेमी नेपाल बोर्डिङ स्कुलका बालबालिकाले सो अभियानको थालनी गरेका हुन् । स्कुलमा अध्ययनरत् ४५० जना छात्रछात्राले आफ्नो एक दिनको खाजाबाट रु एक र स्कुलका शिक्षकबाट रकम सङ्कलन गरी रु छ हजार ८०० जम्मा गरेका छन् । जम्मा भएको रकम कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्ण कुँवरलाई हस्तान्तरण गरेका छन् । सङ्घले सुरुवात गरेको अभियानमा कैलालीका ग्रामीण क्षेत्रमा रहेका विद्यालयका बालबालिका र शिक्षकबाट भएको सहयोगले अभियानमा एक इँटा थप भएको अध्यक्ष कुँवरले बताउनुभयो ।
ठूला व्यक्तिले आइसियू कक्ष सञ्चालनका लागि रकम सङ्कलन गरिरहँदा बालबालिकामा सो प्रेरणा आएको स्कुलका प्रिन्सिपल राजेन्द्र भट्टले बताउनुभयो । उहाँले सो अभियानअन्तर्गत अन्य विद्यालयमा समेत खाजा रकम कटाई जम्मा गर्ने तयारी भइरहेको उल्लेख गर्नु भयो । सो स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रोशन जैसीले पत्रिकामा प्रकाशित भएको सूचनाका आधारमा आइसियू सञ्चालनका लागि रकम सङ्कलन गरिएको बताए ।
सेती अञ्चल अस्पताल धनगढीमा आइसियु कक्ष सञ्चालन गर्नका लागि कैलाली उद्योग वाणिज्य सङ्घ कैलालीले यो वर्षबाट रकम सङ्कलन अभियान सुरु गरेको हो । कक्ष सञ्चालनका लागि हालसम्म रु ३० लाख रकम सङ्कलन भइसकेको उद्योग वाणिज्य सङ्घले जनाएको छ । रासस