ओझेलमा परेको छ कोइलावासको रामजानकी मन्दिर

समाचार

कोइलावास (दाङ), १५ पुस । पर्यटनको राम्रो सम्भावना बोकेको दाङको एक धार्मिक सम्पदा ओझेलमा परेको छ ।

NR-Dang-Ramjanaki Mandir

करिब आठ दशक पहिले निर्माण भएको कोइलावास गाविसमा रहेको रामजानकी मन्दिर व्यवस्थापन तथा प्रचारप्रसार नहँुदा ओझेलमा परेको कोइलावासवासीले बताएका छन् । सो मन्दिरमा पहिले भारतलगायत अन्य देशबाट मन्दिर दर्शनका लागि आउने गरे पनि हाल पर्यटकको सङ्ख्या निकै कम भएको बताएको छ । “मन्दिरमा पहिले दैनिक सयभन्दा बढी भारत तथा नेपालका अन्य स्थानबाट पर्यटक आउने गर्थे, हाल भने पर्यटक शून्यप्राय छ”–स्थानीय फरिद सिद्धिकीले भन्नुभयो ।

स्थानीय सानुमाया तुलाधरले भन्नुभयो–“मन्दिरको उचित प्रचारप्रसार नहुनु तथा धार्मिक तथा पर्यटकीयस्थलको संरक्षणमा राज्यले ध्यान नदिएका कारण नेपालकै दोस्रो ठूलो रामजानकी मन्दिर ओझेलमा परेको छ ।”

“यसको उचित संरक्षण तथा प्रचारप्रसार भयो भने दाङको पनि विकास हुन्छ, दाङको नाम पनि देशैभर छाउने, यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँछ” स्थानीय हरि कुरसीले भन्नुभयो । कुनै बेला रातदिन झकिझकाउ हुने तथा पर्यटकको घुइँचो हुने मन्दिर हाल सुनसान हुने गरेको छ । अन्य स्थानमा पर्यटन प्रवद्र्धनका लागि भन्दै मेला महोत्सव भए पनि दाङको सबैभन्दा पुरानो र ठूलो रामजानकी मन्दिरमा भने कुनै कार्यक्रम नभएको स्थानीयले गुनासो गरेका छन् ।

सो मन्दिरमा पहिले शरद पूर्णिमा र कृष्ण जन्माष्टमीमा कृष्ण लीला सात दिनसम्म धुमधामका साथ मनाउने गरेको पत्रकार राधेश्याम गुप्ताले बताउनुभयो  । ‘राप्ती अञ्चललगायत भारतमा पनि प्रसिद्ध रहेको सो मन्दिर हाल ओझेलमा परेको गुप्ताको भनाइ छ ।कुनै बेला भारत तथा दाङ, रोल्पा, रुकुम, सल्यान लगायतका बटुवाको आश्रयस्थल हुने मन्दिरमा हाल नान्हकप्रसाद सुक्लाले दैनिक पूजापाठ गर्नुका साथै मन्दिरको संरक्षण गर्ने गरेको बताएको छ ।

त्यसैबीच जीर्ण बन्दै गएको सो मन्दिरमा हाल भने रङरोगन हुन लागेको छ । स्थानीय समाजसेवी चिन्ताराम यादवको पहलमा करिब रु पाँच लाख लागतमा मन्दिरको जीर्णाेद्धार र मन्दिरको बाहिरभित्र रङरोगन गर्न लागेको बताएको छ ।“मन्दिर दिनप्रतिदिन जीर्ण बन्दै जान लागेकाले संरक्षणका लागि रङरोगन गर्न लागेको हुँ, मन्दिरमा झार जङ्गल पलाउन लागेपछि सरसफाइ गरी रङरोगन गर्न लागिएको हो”–यादवले भन्नुभयो ।

करिब दुई महिनामा मन्दिरको रङरोगनको काम सकिने यादवले बताउनुभयो । कुनै बेला नेपालको मुख्य नाकाका रूपमा रहेको कोइलावासमा दैनिक ५०० देखि ७५० जना त्यहाँ टाढाटाढाबाट नुन तेल किन्नका लागि जाने गर्दथे ।त्यहाँ ठूलो व्यापारिक केन्द्र हुँदा दैनिक ठूलो सङ्ख्यामा मानिसको किनमेलमा भीड हुने गर्दथ्यो भने टाढाटाढाबाट भक्तजन मन्दिरको दर्शन एवम् पूजाआजाका लागि त्यहाँ जाने गरेका थिए । रासस

Post Comment