थारु समुदायमा ‘माघी’ को रौनकः कतै पीडा कतै उल्लास

शुक्रबार , साउन २७, २०७९
भर्खरै

नेपालगन्ज, १९ पुस । नेपालका  थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।

माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी सो पर्वमा थारु समुदायले कुटानीपिसानी गर्ने, लत्ताकपडा किन्ने र  गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ । माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबन्डा र  खेतीपातीको वार्षिक योजना निर्माण गर्नाका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्छ ।

सो समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिकरी, तरुल, सखरखण्ड र  फर्सी उसिनेर खाने थारु अगुवा बताउँछन् । माघीको अघिल्लो रात सुंँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यस रात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसेर ‘सखिया’ नृत्यमा रमाउने गर्दछ ।

माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का(पैसा) राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन रहेको थारु समुदायका अगुवा विश्वराज पछलडङ्ग्या बताउनुहुन्छ । माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने विश्वास छ ।

सो पर्वका अवसरमा थारु समुदायले आआप्mनो गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्छन् । माघीका अवसरमा बर्दियाको ठाकुरद्वारा र  बाँकेको बैजापुर गाविसस्थित भुँवरभवानी मन्दिरमा चार दिनसम्म ठूलो मेला लाग्छ ।

सो समुदायका मुक्त कमैयाको मुहारमा भने यस बेलामा पनि अभैm थुप्रै पीडा लुकेको देख्न सकिन्छ ।  कमैयामुक्ति घोषणाको १४ वर्ष पूरा भई १५ वर्ष प्रवेशको अवधिमा पनि मुक्त कमैयाको समुचित पुनःस्थापना अभैm हुन नसक्दा उनीहरु  स्वच्छन्द रमाउन भने सकेका छैनन् ।

मुक्त कमैयाले अभैm गाँसबासको समस्या झेलिरहेका छन् ।  अभावमा बाँच्न बाध्य आफूहरुका  लागि चाडपर्व पनि उत्साहजनक हुन नसकेको मुक्तकमैया बताउँछन् । सरकारले ‘कमैयामुक्त’ घोषणा गरेर जग्गा उपलब्ध गराए पनि मुक्तकमैयाको समुचित जीवनयापन सहज हुन सकेको छैन । “जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम हाम्रा लागि नल्याएपछि हामी बिचल्लीमा परेका छौँ”–मुक्तकमैया मङ्गल थारुको गुनासो छ ।

सरकारले आफूहरुको सम्मानजनक गाँसबास र  कपासको व्यवस्था गर्नुपर्ने तथा ऐलानी, जङ्गलाद, गुठी, कम्पनी, नगर विकास, बाँझो जग्गामा बसोबास गर्दै आएकाहरुको पुनःस्थापना गर्नुपर्ने उनीहरुको माग छ । रासस

Post Comment