बेनी (म्याग्दी), २४ पुस । म्याग्दीका ग्रामीण सामुदायिक विद्यालयमा विद्यालय पुस्तकालय स्थापना भएपछि विद्यालयमा अध्ययनरत बालबालिकाको पढाइ राम्रो बन्दै जान थालेको पाइएको छ ।
विद्यालय पुस्तकालयमा विद्यालय पाठ्यक्रमलगायत सामान्य ज्ञान, कला साहित्य, विज्ञान र मानवीय रुचिका पुस्तक पाइने भएकाले बालबालिकाको पढाइ राम्रो हुनुका साथै उनीहरु रमाउँदै विद्यालय जाने गरेको पाइएको हो ।
गाजा युवा क्लब बागलुङको व्यवस्थापन र रुम टु रिड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा हालसम्म जिल्लाका ९९ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिदिएपछि ती विद्यालयमा अध्ययनरत बालबालिकाको पढ्ने बानीमा सुधार आएको हो ।
जिल्लाका ९९ वटा सामुदायिक विद्यालयमा तीनवर्षे कार्यक्रमअन्तर्गत पुस्तकालय, फर्निचर र तालिमको व्यवस्था गरिनुका साथै अन्य १४ वटा सामुदायिक विद्यालयमा पुस्तकमात्र सहयोग गरिएको गाजा युवा क्लबका विद्यालय पुस्तकालय संयोजक हरिकृष्ण गौतमले जानकारी दिनुभयो ।
विद्यालयमा पुस्तकालय स्थापना भएपछि विद्यार्थीहरु आफूहरूसँग नभएका पुस्तक पुस्तकालयमा आएर पढ्न थालेको म्याग्दी विद्यालय पुस्तकालय सञ्जालका संयोजक भक्त कार्कीले बताउनुभयो ।
सरस्वती प्राथमिक विद्यालय बगरफाँटका प्रधानाध्यापक प्रेमबहादुर कार्कीले पुस्तकालयलाई अझै विस्तार गर्न सकियो भने विद्यार्थी अझ बढी प्रभावित हुने उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर कार्कीले ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा पनि विद्यालय पुस्तकालय स्थापना हुनु सुखद् अनुभूति भएको छ भन्नुभयो ।
साथै बेनी बजारको बेनी सामुदायिक उमावि, अर्थुङ्गेको जामुनाखर्क उमावि, ज्यामरुककोटको अर्जुन उमावि, सरस्वति प्रावि, रत्नेचौरको भानु उमावि, सिंगाको धौलागिरि माविलगायतका विद्यालयले पुस्तकालयको व्यवस्थापन उत्साहजनक तरिकाले गरिरहेको गाजा युवा क्लबका वरिष्ठ पुस्तकालय सहजकर्ता रेशम छन्त्यालले बताउनुभयो ।
क्लबले विद्यालयमा पुस्तकालय स्थापनासँगै पठन संस्कृतिको विकास गराउन विभिन्न रचनात्मक कार्यक्रम पनि गर्ने गरेको छ । पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमका अनुसार पठन क्रियाकलापअन्तर्गत सस्वरवाचन पढाइ, स्वतन्त्र पढाइ, सामूहिक पढाइ र अभिनयात्मक पढाइमा विद्यार्थीलाई सहभागी गराइँदै आएको छ । रासस