कालीकोटमा इन्टरनेट सेवाग्राहीको सङ्ख्या बढ्यो

समाचार

कालीकोट, १६ माघ । प्रविधिको विकाससँगै कालीकोट जिल्लामा पछिल्लो समयमा अनलाइनसम्बन्धी काम हुन थालेपछि इन्टरनेटका सेवाग्राही ह्वात्तै बढेका छन् ।

बिरलै रुपमा सञ्चालनमा आएको इन्टरनेट सेवा सदरमुकाम मान्ममा मात्र होइन, ग्रामीण क्षेत्रमा समेत बढ्न थालेको छ ।

कालीकोट जिल्लाका विभिन्न सरकारी कार्यालयले अनलाइन सेवा दिन थालेपछि सेवाग्राही बढ्न थालेको बताइएको छ । जिल्ला दूरसञ्चार कार्यालय कालीकोटका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सेवाग्राहीको सङ्ख्या वृद्धि भएको जनाएको छ ।

पछिल्लो समयमा जिल्ला दूरसञ्चार कार्यालय कालीकोटका प्रमुख कुम्म शाहीले दिएको जानकारीअनुसार नमस्ते प्रिपेड ३२ हजार ५०० मोबाइलका ग्राहक रहेको बताएका छन् ।

त्यसैगरी प्रिपेड स्काइका १२ हजार ४००, पोस्टपेड स्काइका २५० सेवाग्राही रहेको बताइएको छ । शाहीका अनुसार सो सेवा हालका लागि बन्द गरिएको छ । पोस्टपेड नमस्तेका १६५ जना सेवाग्राही रहेको बताइको छ ।

त्यस्तै इन्टरनेट सम्बन्धमा जिल्ला सदरमुकाममा एडिसिएल प्रयोगकर्ताको सङ्ख्या हाल ८६ रहेको बताउँदै कार्यालय प्रमुख शाहीले १० वटा एडिएसएल क्षमता नहुँदा सञ्चालनमा नरहेको बताउनुभयो । भर्खरै जिल्लामा भित्रिएको वाइम्याक्सका सेवाग्राही सङ्ख्या आठवटा मात्र रहेको दूरसञ्चार कार्यालय कालीकोटका प्राविधिक मेघराज सन्यालले जानकारी दिनुभएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा स्काइ प्रोका माध्यमबाट इन्टरनेट सेवा लिएकाको सङ्ख्या अनगिन्ती रहेको जनाएको छ । जिल्ला दूरसञ्चार कार्यालय कालीकोटकाले भने स्काइ प्रोले काम गर्ने जिल्लाका ३० मध्ये २५ गाविस रहेको भए पनि त्यति प्रभावकारी हुन नसकेको बताइएको छ ।

ग्रामीण क्षेत्रमा समेत इन्टरनेटका माध्यमबाट सिप्खाना गाविसबाट टेलिमिडिसियन सेवा दिन पाउँदा आफू र सेवाग्राहीमा काठमाडौँको उपचार कालीकोटमा पाउँदा धेरै सजिलो भएको अहेब हंसराज न्यौपानेले बताउनुभयो । रासस

Post Comment