पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यको थालनी फागुनदेखि

समाचार

पोखरा, २५ माघ । नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यको शिलान्यास फागुन महिनाको तेस्रो सातामा हुने बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको हीरक जयन्ती एवम् स्मारिका विमोचन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले शिलान्यास भइसकेपछि विमानस्थलको लागि थप अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जा वितरणको विवाद भएपनि काम अगाडि बढाउँदै लैजाने जानकारी दिनुभयो ।

सिन्डिकेट प्रणालीले अर्थतन्त्रलाई थला पार्ने चेतावनी दिँदै उहाँले यस प्रणालीले गुण्डा पाल्ने, घुस खुवाउने र अकुत सम्पत्ति कमाउने प्रवृत्तिलाई मात्रै फाइदा पु¥याउने धारणा राख्नुभयो ।

धेरै विकसित मुलुकहरू मुख्य मुख्य आयोजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढ्दा आजको अवस्थामा पुगेको उदाहरण दिँदै उहाँले स्थानीयवासी बढी लाभान्वित हुने आयोजना छनौट गरेर बजेट लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले बन्द र हडतालले उद्योगधन्दा र कलकारखानालाई धरासायी बनाउने हुँदा राजनीतिक दलहरूले विरोधको स्वरूप परिवर्तन गरेर काम गर्न अनुरोध गर्नुभयो ।

उहाँले सङ्घको तर्फबाट जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धानमा सहयोग पु¥याउन अत्याधुनिक उपकरण खरिद गर्न रु तीन लाख दुई हजार सात सय र लामाचौर–माछापुच्छे सडक स्तरोन्नतिका लागि रु एक लाख ५० हजार हस्तान्तरण गर्नुभयो ।

मुख्य सचिव पौड््यालले सोही समारोहमा सङ्घको विकासमा उल्लेखनीय योगदान पु¥याउने हेमबहादुर प्रधान, वसन्त उदास, रमेश कर्माचार्य, राजेन्द्रकुमार लालचन, मानकाजी माकाजु, कृष्णमोहन श्रेष्ठ र हिरामान श्रेष्ठलाई मानार्थ सदस्यताको प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, सङ्घका पूर्व अध्यक्ष हेमबहादुर प्रधान, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरी, पत्रकार महासङ्घका अध्यक्ष रामकृष्ण ज्ञवाली, सङ्घका प्रकाशदेव पालिखेलगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

Post Comment