बागलुङ, साउन २४ । जिल्लाको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ विद्युत् अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ ।
टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित बनेको छ । दुई साताअघिको बाढीले २० वटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएपछि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध छ ।
टेलिकमको ल्यान्ड फोन, प्रिपेड, पोस्पेड, स्काइलगायतका सबै सेवा बन्द रहेको प्रयोगकर्ताले जनाएका छन् । लघुजलविद्युत् आयोजनाबाट निस्कने विद्युत्मा निर्भर रहेका ‘बिटिएस टावर’ सञ्चालनको प्रयास भइरहेको नेपाल टेलिकम बागलुङले जनाएको छ ।
तत्काल पाँच ठाउँको ‘टावर’ सञ्चालनमा ल्याउन आवश्यक उपकरण पठाउन लागिएको इन्जिनियर अमृत नेपालले बताए । विद्युत् रोकिएको चार दिनसम्म ब्याट्रीले धाने पनि त्यसपछि १० वटै टावर बन्द भएको उहाँको भनाइ छ ।
बोङ्गादोभान, देवीस्थान, दर्लिङ र खुङ्खानीमा केही दिनमै सेवा सुचारु हुने जनाइएको छ ।
अधिकारीचौर, बुर्तिवाङलगायतका गाविसमा भने समय लाग्ने देखिएको छ ।
तत्कालको लागि सानो क्षमताको सोलार राखेर भए पनि आंशिक सेवा सञ्चालन गर्ने योजना टेलिकमले बनाएको छ ।