कांग्रेसबाट को को मन्त्री बन्दैछन, दाहाल नेतृत्वको सरकारमा

समाचार

pmo_office_copy12

६ भदौ,काठमाडौ । नेपाली कांग्रेसले सरकारमा पार्टीको तर्फबाट थप नाम पठाउने तयारी गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेटेर सभापति शेरबहादुर देउवाले थप नाम पठाउन लागेका हुन।

सोमबार जिल्ला सभापतिहरुको भेला सकिने र भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री बिमलेन्द्र निधि समेत फर्कने भएकाले मंगलबार या बुधबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नामावली पठाउने तयारी भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसबाट अर्जुननरसिंह केसी, बालकृष्ण खाँड, डा। प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, जीवन शाही, सीतादेवी यादव, केशव बुढाथोकी, नवीन्द्रराज जोशी, दीपक गिरी, भिमसेनदास प्रधान मन्त्री बन्ने चर्चा छ ।

यसअघि गृहमन्त्री नपाएकाले सरकारमा जान नमानेका केसी शिक्षा मन्त्रालय सम्हाल्नेगरी जिम्मेवारी लिन तयार भएको कांग्रेस निकट स्रोतले जनाएको छ । मिनबहादुर विश्वकर्मा, जीवन परियार, बलबहादुर केसी लगायत नेताहरु पनि मन्त्री बन्नको लागि दौडधुपमा छन् ।

मन्त्री बन्न खोज्नेहरुको सूचि लामो भएकाले कांग्रेसलाई नाम टुंगो लगाउन समस्या भएको हो । सरकार गठन भएको तीन हप्ता बित्न लाग्दा समेत कांग्रेसकै कारण मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।