प्रचण्डले भारतसँग ठूलो राष्ट्रघाती सम्झौता गरेको भन्दै विप्लवद्धारा आन्दोलनको घोषणा

समाचार

काठमाडौं, असोज १ ।  प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा ठूलो राष्ट्रघात गरेको भन्दै नेकपा (माओवादी)ले त्यसका विरुद्ध कडा संघर्षमा उत्रने घोषणा गरेको छ ।

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आज विज्ञप्ती जारी गर्दै विगतमा भएका राष्ट्रघाती सम्झौतालाई फेरि निरन्तरता दिँदै थप राष्ट्रघाती सम्झौताहरु गरेको प्रष्ट पारेका छन् । प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सहमति देशका निम्ति ठूलो बेइज्यति र शर्मनाक विषय भएको महासचिव विप्लवको दाबी छ ।
भारत भ्रमणका क्रममा प्रचण्डले गरेको २५ बुँदे सहमतिलाई कुनै पनि हालतमा लागु हुन नदिने घोषणा पनि नेकपा (माओवादी)ले गरेको छ ।
साथै महासचिव विप्लवले विज्ञप्तीमार्फत संविधान पनि भारतकै चाहना वमोजिम संशोधन गर्नेसम्मका कवुल गरेर राष्ट्रघात र नेपाली नागरिकहरुका लागि समेत लज्जित बनाएको भन्दै यसका विरुद्धमा आम नेपाली जनतालाई संघर्षमा उत्रिन पनि अपिल गरेको छ ।
प्रचण्डले नेपाली जनताको परामर्श नै नलिएर भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका रुपमा समर्थन गर्ने सहमति गरेको, नयाँ दिल्लीबाटै नेपालका भुकम्प पीडितलाई पैसा बाँड्ने योजना बनाएको, नेपालमा निरन्तर विरोध र खारेजीको माग हुँदै आएका महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनालाई कार्यान्वयन गर्ने फेरि सहमति जनाएर विस्तारवाद सामु आत्मसमर्पणको उहाको आरोप छ ।

विज्ञप्तीमा भनिएको छ , “२५ बुँदे सहमतिमा भारत सामु नेपालका प्रधानमन्त्री प्रचण्डको आत्मसमर्पन र चाकरी नाङ्गो रुपले पोखिएको छ । उनको अनुहार नकावविहिन बन्न पुगेको छ भने भारतको विस्तारवादी रवैया पनि भद्दा प्रकारले उदाङ्गिएको छ ।”