२५ मङ्सिर । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा जारी गत्यावरोध तत्काल अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सभामुख घर्तीले लामो समयसम्म संसद्मा अवरोध हुनु जायज छैन भन्दै अवरोध खुलाउनका लागि वार्ता र संवादलाई जोड दिन आग्रह गर्नुभएको हो । सभामुखले प्रधानमन्त्रीलाई राजनीतिक संवादमार्फत सदन पुनःसञ्चालन गराउन ध्यानाकर्षण गराउँदै पछिल्लो दिनमा नेपाली काँग्रेसका सभापति र नेकपा(एमाले)का अध्यक्षसँग भएको छलफलका बारेमा समेत प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
सभामुखले आफू नेपाल बाहिर हुने समयलाई सहमतिका लागि उपयोग गर्न आग्रह गरेको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । सभामुख घर्ती संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने विश्वका महिला सभामुखको सम्मेलनमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै आज त्यसतर्फ जाँदै हुनुहुन्छ । “आफू मुलुक बाहिर रहने र सहमतिका लागि पाँच दिन पुग्दो समय भएकाले सहमतिको पहल गर्न र सदनको अवरोध हटाउन नै सभामुखले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीले पनि त्यसका लागि सकारात्मक पहल भइरहेको र केही दिनभित्रै समाधान निस्कने विश्वास व्यक्त गर्नुभएको छ”,सभामुख र प्रधानमन्त्रीबीचको छलफलबारे जानकारी दिँदै सल्लाहकार शर्माले भन्नुभयो ।
सभामुखले संसद्मा अवरोध जारी रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाअभियोग प्रस्ताव तथा निर्वाचनसम्बन्धी र संविधान संशोधन विधेयकको प्रक्रिया अघि बढ्न नसकेको जनाउँदै अवरोध हटाउन सरकार प्रमुखका रुपमा प्रधानमन्त्रीको निर्णायक भूमिका हुनेमा जोड दिनुभएको थियो ।
जवाफमा प्रधानमन्त्रीले संसद्को अवरोध अन्त्यको प्रयासमा दलबीच औपचारिक र अनौपचारिक कुराकानी भइरहेको जनाउँदै केही दिनमै सहमति हुने विश्वास व्यक्त गर्नुभयो । “औपचारिक÷अनौपचारिक कुराकानी भइरहेको छ”–सभामुख घर्तीसँगको कुराकानीमा प्रधानमन्त्रीले भन्नुभयो, “मलाई आशा छ, एकाध दिनभित्रै एउटा मसिनो सहमति हुन सक्छ । त्यसका लागि सरकार प्रयासरत छ ।”
सभामुखले यसअघि प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटी सदनको गत्यावरोध हटाउन आग्रह गर्नुभएको थियो । सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रघाती भन्दै एमालेलगायत दलले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । संसदको अर्को बैठक यही मङ्सिर ३० गतेका लागि बोलाइएको छ ।