१,पौष । उर्जामन्त्री जनार्दन शर्माले आफ्नी पत्नीको लगानी रहेको सहकारीमार्फत बन्न लागेको ‘खिम्ती– २’ जलुविद्युत् आयोजनालाई ठूलो लाभ हुने गरेर ‘नीतिगत भ्रष्टाचार’ गरेको खुलासा भएको छ ।
मन्त्री शर्माले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पत्नी लक्ष्मी शर्माको नाममा पिपुल्स सहकारीमा पाँच हजार कित्ता सेयर छ । सोही सहकारीले ४८ मेगावाटको ‘खिम्ती– २’ जलविद्युत आयोजनाले प्रतिमेगावाट पचास लाख भ्याट छुट पनि पाएको छ ।
राजधानीमा मात्रै लोडसेडिङको अन्त्य गरेर उपत्यका बाहिरका सबै जिल्लाहरूमा छ देखि आठ घण्टासम्म लोडसेडिङ गराएर चर्चा कमाएका उर्जामन्त्री शर्माले आफ्नी पत्नीको सो सहकारीलाई ठूलो लाभ गराइ दिएका हुन् ।
पत्नीको लगानी रहेको ‘खिम्ती– २’को बिजुली नेपाल विद्युत प्राधिकरणलाई आवश्यक नपरे पनि उर्जामन्त्री शर्माको बिहीबारको निर्णयले अनिर्वाय रुपमा खरिद गर्नुपर्नेछ । अन्यथा हर्जान तिर्नुपर्ने हुन्छ ।मन्त्री शर्माले ‘खिम्ती– २’ सँग भएको ‘पीपीए’ विपरित उर्जामा नयाँ नीतिका नाममा पत्नीको सहकारी र जलविद्युत आयोजनालाई लाभ पुगाएका हुन् ।
अब मन्त्री शर्माको पत्नीको जलविद्युत आयोजनाको बिजुली नेपाल विद्युत प्राधिकरणले नकिने पनि त्यसको क्षतिपूर्ति तिर्नुपर्ने छ ।यो निर्णयबाट नेपाल विद्युत् प्राधिकरण र नेपाली जनतालाई ठूलो नोक्सानी हुनेछ ।लक्ष्मी शर्माको पिपुल्स सहकारीको ‘खिम्ती– २’ ले प्राधिकरणलाई आवश्यक नपर्दा पनि बिजुलीको पैसा तिर्नुपर्ने हुन्छ ।
यसबाट नेपाल विद्युत प्राधिकरणलाई करोडौँको नोक्सानी हुनेछ । मन्त्री शर्माको पत्नीलाई खुसी बनाउन बिद्युत प्राधिकरका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूलो सहयोग पुगाएको स्रोतले जनाएको छ ।
‘अबदेखि विद्युत प्राधिकरणले पीपीए (बिद्युत खरिद सम्झौता) गर्दा ‘टेक अर पे’ (अर्थात नीजि क्षेत्रका कम्पनीहरूले उत्पादन गरेको बिद्युत आवश्यक परे खरिद गर्ने नपरे नगर्ने व्यवस्था) हटाउने’, उर्जा मन्त्रालयले बिहीबार जारी गरेको उर्जा नीतिसम्बन्धी प्रेस नेटमा भनिएको छ, ‘‘टेक अर पे’ को सट्टा ‘टेक एण्ड पे’ (अर्थात उत्पादित बिद्युत प्राधिकरणले किन्नैपर्ने) को व्यवस्था गरिनेछ ।’
मन्त्री शर्माले उर्जा उत्पादक कम्पनीहरूलाई प्रति मेगावाट ५० लाख भ्याट छुट दिने निर्णय गरेको प्रेस नोटमा उल्लेख छ ।हुन त मन्त्री शर्माको विरोध गर्नेहरूलाई उनले लोडसेडिङ विरोधी भनेर आरोप लगाउने गरेका छन् ।
उनको यस्तो नाङ्गो नीतिगत भ्रष्टाचारको बिरोध नगर्ने हो भने नेपाल विद्युत प्राधिकरण छिट्टै टाँट पल्टिने पक्का छ ।