काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावको मिति तोक्नेगरी निर्वाचन आयोगलाई चिठी लेखे पनि मिति नतोकेकाले ‘नआत्तिन’ मधेसी मोर्चालाई आग्रह गरेका छन् । चुनाव मिति तोक्ने र आवश्यक सबै तयारी गर्नेगरी आयोगलाई पत्र लेख्ने निर्णय गरेको भोलिपल्ट मोर्चासँग बालुवाटार निवासमा वार्ता गर्दै दाहालले मोर्चासँग सहमति नगरी चुनाव मिति नतोकिने आश्वासन समेत दिए । उनले बिहीबारको क्याबिनेटबाट जेठ १० भित्र चुनाव गरिसक्नेगरी पत्र लेख्ने निर्णय भए पनि शुक्रबार पठाएको पत्रमा उक्त समयावधि उल्लेख नगरेको समेत बैठकमा जानकारी दिए ।
मोर्चालाई दिएको आश्वासनसँगै दाहाल चुनावको निर्णयबाट २४ घन्टा नबित्दै ‘यु टर्न’ लिन खोजेको आँकलन गरिएको छ । मोर्चासँग अघिल्ला बैठकहरुमा नियमित सहभागी हुने गरेको सत्तारुढ कांग्रेस शुक्रबारको बैठकमा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
‘आयोगलाई चिठीमात्रै लेखेको हुँ, चुनावको समयावधि तोकिसकेको छैन, आयोगले चुनाव तयारीमा कम्तीमा ९० दिन लाग्ने भनेपछि यसबारे अझै विचार गर्नुपर्ने भयो,’ दाहालले मोर्चा नेतालाई भने, ‘संविधान संशोधन विधेयक पनि छलफलबाट छिटै सहमति निकालेर पारित गराउँछु । विधेयकको भाषालाई परिमार्जन गर्न तपाईंहरु पनि तयार रहनुहोस् । अनि मात्रै चुनावमा जाने हो ।’
बैठक स्रोतका अनुसार मोर्चा नेताहरुले विधेयक टुंगो नलगाई कांग्रेस, एमाले र माओवादी केन्द्र चुनावमा जान लागेका हुन् भनी एकै साथ प्रश्न राखेपछि दाहालले आश्वस्त तुल्याउन खोजेका थिए ।
दाहालले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वमा बनेको स्थानीय तहको क्षेत्र, संख्या तथा सिमानासम्बन्धी देखिएका विवाद निरुपण गर्ने समितिले सहमतिका लागि प्रयास गर्ने भन्दै स्थानीय तह पुनर्संरचना आयोगले छुट्याउन बाँकी स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको किटानीपछि बाँकी क्षेत्रलाई जनसंख्याको आधारमा स्थानीय तह बनाउन सरकार सकारात्मक रहेको समेत बताएका थिए ।
उच्च स्रोतका अनुसार यी सबै कामका लागि समय लाग्ने भन्दै दाहालले संविधान संशोधनपछि हुने चुनावमा सबै पक्षको स्वामित्व रहने भएकाले आफ्नो जोड त्यसैमा रहेको हुँदा कुनै पक्षलाई छाडेर एक्लै निर्णय नलिने बताएका थिए । उनले प्रतिपक्षी एमालेले सिधै चुनाव घोषणा गर्न भनिरहे पनि राजनीतिक सहमति आफ्ना लागि प्राथमिक रहेको प्रष्टयाएका थिए ।
‘संशोधन विधेयक पारित गराउनेमा प्रधानमन्त्रीको जोड अझै पनि छँदैछ भन्नेमै हामीलाई बताउनुभयो, त्यसैले सहमतिबाट मात्रै चुनावको मिति घोषणा हुन्छ भन्नेमा अब हामी विश्वस्त छौं,’ बैठकपछि संघीय समाजवादी फोरम सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘आज वार्तामा भनिए भन्दा अलग ढंगले चुनाव घोषणा भयो भने हामी मान्दैनौं भनेर प्रष्टै भनिदिएका छौं । प्रधानमन्त्रीले त्यसो हुँदैन भन्नुभएको छ ।’
बैठकमा सहभागी मोर्चाका अर्का नेताले प्रधानमन्त्री बिहीबारको निर्णयबाट पछि हटेको आफूले महसुस गरेको कान्तिपुरलाई बताए । माओवादी केन्द्रका नेता मातृका यादवले प्रधानमन्त्री चुनावबाट पछि नहटेको, तर त्यसभन्दा पहिले संशोधन विधेयकलाई टुंगो लगाउन अग्रसर रहेको दाबी गरे । ‘विधेयकलाई यत्तिकै छाडेर चुनावमा जाने कुरा भएन, प्रधानमन्त्रीले यही कुरा बैठकमा राख्नुभएको हो,’ यादवले भने, ‘राजनीतिक सहमतिबाटै चुनाव घोषणा हुन्छ भन्ने कुरा बैठकमा भयो ।’
कान्तिपुर दैनिकमा खबर छ ।