काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी यो मुलुकमा रहुन्जेलसम्म कसैलेपनि केही विगार्न नसक्ने बताएका छन्।
शनिबार प्रेस चौतारी मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले भने,‘कसैलेपनि चुनाव नगर्ने सपना नदेखे हुन्छ, नेकपा एमाले यो देशमा छ, हामी सरकारले नचाहे पनि निर्वाचन गराएरै छाड्छौं।’
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अघि थपे,‘मुलुकमा संवैधानिक र राजनीतिक संकट आउन नदिन निर्वाचन गराएरै छाड्छौं, यो कुरा सरकारले बुझे हुन्छ र नबुझे बुझाएरै छाड्छौं’।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निर्वाचन गराउनमा कुनै व्यवधान खडा गरे सरकारलाई जुनसुकै बखत अप्ठयारोमा पार्ने समेत चेतावनी दिए।
उनले प्रचण्ड नेतृत्वको सरकार चुनाव गराएर देश अगाडि बढाउनभन्दापनि सरकारमा बसिरहेर आयु लम्ब्याउने खेलमा लागेको समेत आरोप लगाए। उनले पत्रकारलाई राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, राष्ट्रिय एकता र समृद्ध देश निर्माणका लागि कलम चलाउन आग्रह गरे ।