गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णयक हुनेवाला थियो । तर, सो मत गणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि मतगणनालाई निरन्तरता दिइनेछ भन्ने अन्योल छाएको छ ।
माओवादी केन्द्र र कांग्रेस गठबन्धन उम्मेदवार रेणु दाहालले करिब ३८ सयबाट मतान्तर करिब सात सयमा झारिसकेकी थिइन् । आइतबार राति भरतपुरस्थित कभर्ड हलमा वडा नं. १९ को मतगणना भइरहेको थियो । त्यसपछि गणना हुन वडा नं. २० मात्र बाँकी थियो ।
करिब २८ सय मतदाता रहेको वडा नं. १९ को पनि एक हजार आठ सय मत गणना भएर नतिजा सार्वजनिक भइसकेको थियो । थप ६ सय अर्थात् कुल २४ सय मतको परिणाम सार्वजनिक हुनै लाग्दा मतपत्र च्यातिएको हो । लगत्तै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सोमबार बिहान १ बजेर २० मिनेटमा सूचना टाँस गरी अनिश्चितकालका लागि मतगणना रोकिएको जानकारी गराए ।
मतपत्र च्यातेको आरोपमा प्रहरीले दुईजना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । तर, माओवादीले भने तानातानमा मतपत्र च्यातिएको दाबी गरिरहेको छ ।
वडा नं. १९ मा कांग्रेसले वडाध्यक्षमा अग्रता लिएको थियो । सो वडाको २४ सय मत गणना हुँदा गठबन्धन उम्मेदवार दाहालभन्दा एमाले उम्मेदवार देवी ज्ञवाली सात सय ८४ मतले अघि थिए । वडा नं. १९ को थप चार सय मत मात्र गणना गर्न बाँकी थियो । २० नम्बर वडामा प्रवेश गर्दा देवी ज्ञवालीले सात सय हाराहारीले अग्रता कायम गर्ने निश्चित भएपछि हार्ने देखेर माओवादी प्रतिनिधिले मतपत्र च्यातेको मतगणनामा खटिएका एमाले उपाध्यक्ष तेजेन्द्र खड्काले बताए ।
यता, माओवादीका चितवन इन्चार्ज ईश्वरी भट्टराईद्वारा जारी विज्ञप्तिमा एमाले प्रतिनिधिले मतपत्र च्यात्न खोज्दा आफ्नो दलका प्रतिनिधिले रक्षा गर्ने क्रममा तानातानमा च्यातिएको दाबी गरिएको छ ।
मतपत्र च्यात्नेविरुद्ध मुद्दा
जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका दुईजनाविरुद्ध मंगलबार मुद्दा दर्ता गरेको छ । माओवादी केन्द्रका प्रतिनिधि मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध मुद्दा दर्ता भएको हो ।
चितवन प्रहरी प्रमुख एसपी दीपक थापाका अनुसार मंगलबार नै चितवन जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ । सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार मात्र अदालतमा उपस्थित गराएको थापाले जनाए । मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जबरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिवाना र दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा र संयुक्त दलित अधिकार मञ्च नेपालले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी वडा नं. १९ मा मतगणना पुनः सुरु गर्न माग गरेका छन् ।
अराजक प्रवृत्तिका केही व्यक्तिले मतगणना प्रभावित पार्न मतपत्र च्यात्ने अलोकतान्त्रिक काम गरेको भन्दै उनीहरूले च्यातिएका मतपत्र सर्वदलीय सहमतिका आधारमा छिनोफानो लगाई यथाशीघ्र मतगणना सुरु गर्न आग्रह गरेका छन् ।
मतपत्र च्यातिएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदै छ । अनुसन्धान सकेर समिति सदस्यहरू मंगलबार दिउँसो नै काठमाडौं फर्किएका छन् । छानबिन समितिका संयोजक गीताप्रसाद तिमल्सिना नेतृत्वको टोली सोमबार साँझ भरतपुर आइपुगेको थियो । समितिमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी प्रधान कार्यालयका डिआइजी मोहन भण्डारी सदस्य छन् ।
समितिले प्रतिवेदन बुझाएपछि निर्वाचन आयोगले उचित निर्णय लिने बताइएको छ । समितिले मंगलबार जिल्लाका राजनीतिक दलहरूसँग छलफलसमेत गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । त्यस्तै, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मतगणनास्थलमा खटिएका कर्मचारी, निर्वाचन अधिकृतसँग पनि घटनाको विषयमा जानकारी लिएको थियो ।
नयाँपत्रिकामा खबर छ