एसइईको नतिजा सार्वजनिक, ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण

एसइईको नतिजा सार्वजनिक, ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण
समाचार

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा शुक्रबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।

पनिकाले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित भएको हो । यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई नामकरण गरेको छ ।

पनिकाले अघिल्लो वर्षदेखि लेटर ग्रेडिङ सिस्टममा नतिजा प्रकाशित गर्न थालेको हो । ऐनमा कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा हुने भनिए पनि राष्ट्रिय परीक्षा बोर्डको संरचना व्यवस्थित नभएका कारण विगतमा एसएलसी सञ्चालन गर्ने पनिकाबाट परीक्षा सञ्चालनदेखि नतिजा सार्वजनिकसम्मका काम भएका हुन् ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइ www.soce.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै  www.neb.gov.np नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ । तर, लोड बढी भएका कारण यी साइटहरू खुल्न सकेका छैनन् ।

परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।

कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ ।

नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

Post Comment