भारतीय प्रस्ताव अस्वीकार गर्दै ओलीले कार्यक्रम बहिष्कार गरे

भारतीय प्रस्ताव अस्वीकार गर्दै ओलीले कार्यक्रम बहिष्कार गरे
समाचार

भारतविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रस्ताव अस्वीकार गर्दै कार्यक्रम नै बहिष्कार गरेका छन् ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको स्वागतमा शुक्रबार लैनचौरस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा सहभागी हुन आएको प्रस्ताव अस्वीकार गर्दै ओलीले कार्यक्रम नै बहिष्कार गरेका हुन् । यद्यपी उनको सचिवालयले यसलाई बहिष्कार भन्न मानेको छैन् । कुटनीतिक भाषामा अर्काे ठाउँमा कार्यक्रम तय भएकाले सहभागी हुन नसक्ने भनेको छ ।

भारतीय विदेशमन्त्री स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन विहिबार मात्रै काठमाडौं आइपुगेकी थिइन् । उनकै स्वागतमा कार्यक्रमसहित भारतीय दूतावासले आज साँझ ५ बजेदेखि भोजको पनि आयोजना गरेको छ । दूतावासको यो कार्यक्रममा ओली सरिक नहुने भएका छन् ।

उसो त भारतको अघोषित नाकाबन्दीदेखि ओली भारतीय दूतावास गएका छैनन् । अहिलेसम्म भएका सबै कार्यक्रम बहिष्कार गरेका छन् । यसपटक पनि ओली कार्यक्रममा सहभागी हुननसक्ने कुराको पुष्टि उनका स्वकीय सचिव अनिश दाहालले गरेका छन् । दाहालले कुटनीतिक भाषामा भने– ‘भोलि अध्यक्षज्यूको अन्त नै कार्यक्रम तय भएको छ । भोजमा सरिक हुनुहुन्न ।’

समाचार स्रोतका अनुसार ओली शुक्रबार मुस्ताङ जाँदैछन् । शुक्रबार पोखरा हुँदै मुस्ताङ जान लागेका ओली तीन दिन उतै विताउने छन् ।

भोजमा सरिक भइदिन अनुरोध गर्दै भारतीय राजदूत मञ्जीव सिंह पुरी एक साता अघि मात्र ओली निवास बालकोट पुगेका थिए । तर, ओलीले टाउको मात्र हल्लाएका थिए । आउने वा नआउने भन्नेबारे जानकारी गराएका थिएनन् ।

राजदूतसँग कुनै जवाफ नदिएका ओली भारतीय विदेशमन्त्री स्वराज नेपाल आएका बेला राजधानी बाहिर जानुलाई कुटीनितक रूपमा अनेकन चर्चा समेत हुन थालेको छ । स्वराजलाई भेट्नु पर्छ भनेर छल्नकै लागि ओली राजधानी बाहिर जान लागेको कतिपयको टिप्पणी छ ।

नेपालका प्रधानमन्त्री, कयौं मन्त्री, नेता, पत्रकार, वुद्धिजीविलाई आह्वान गरिएको भोजमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी बताइएको छ ।

Post Comment