सरकारले बर्खास्त गरेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकारले पदबाट बर्खास्त गरेको दुई दिनपछि खड्काले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । खड्काले आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न नगराउन सरकारको नाममा अन्तरिम आदेशको माग गरेका छन् । संसदीय समितिको सिफारिसमा सरकारले निगमको जग्गा खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको भन्दै अस्ति सोमबार पदबाट बर्खास्त गरेको थियो ।
खड्काले आफूलाई चार वर्षका लागि अर्थात २०७५ माघ १२ गतेसम्मका लागि नियुक्ती गरिएको भन्दै वर्खास्त गर्ने सरकारको निर्णय खारेज गरी पदबहालीको माग राखेर मुद्दा दायर गरेका हुन् । निवेदनमा खड्काले आयल निगमको तेल भण्डारणका लागि विभिन्न ठाउँमा खरिद गरिएको जग्गा सार्वजनिक खरिद ऐन नियम अनुसारको सबै प्रक्रिया पूरा गरीएको दाबी गरेका छन् ।
खड्काले आफुलाई निगमको प्रमुख पदबाट हटाइएको आधिकारिक पत्र अहिलेसम्म प्राप्त नभएको जिकिर पनि गरेका छन् । दशैँको लामो सार्वजनिक विदा सुरु हुन लागेको र न्यायालयसमेत घटस्थापनादेखि बन्द हुने भएकोले सुनुवाईको मौकासमेत प्रदान नगरी आफूलाई हटाएको दावी उनले गरेका छन्