रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत नियुक्त भएका छन् । गत साता अमेरिकाको सिनेटमा भएको सुनुवाइमा बेरीको नाम नेपालको राजदूतका लागि अनुमोदन भएको हो ।
गत मे १० तारिखमा बेरीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको राजदूतमा सिफारिस गरेका थिए । दक्षिण एसिया मामलाका जानकार बेरी अमेरिकाको विदेश मन्त्रालयको प्रजातन्त्र मानवअधिकार र श्रम विभागको उपनिर्देशकका रूपमा कार्यरत थिए ।
बेरीले अमेरिकी सरकारका विभिन्न निकायमा बसेर २५ वर्ष लामो सेवा गरिसकेको विदेश मन्त्रालयले जारी गरेको न्युज बुलेटिनमा उल्लेख छ ।
बेरी समलिंगी हुन् र सन् २०१५ मा तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरीले उनलाई समलिंगी अधिकार प्रवर्द्धनका लागि पहिलो विशेष दूत नियुक्त गरेका थिए ।
त्यसबेला उनी एम्स्ट्रेडममा अमेरिकी काउन्सिलर जनरल थिए । नेपालमा राजदूत नियुक्त हुनुअघि बेरी अमेरिकी विदेश मन्त्रालयअन्तर्गत प्रजातन्त्र, मानवअधिकार र मजदुर ब्युरोका उपसहायक मन्त्री थिए ।
यसअघि उनले बंगलादेश, न्युजिल्यान्ड, इजिप्ट, युगान्डा, दक्षिण अफ्रिकास्थित अमेरिकी मिसनहरूमा रहेर विभिन्न जिम्मेवारीमा काम गरिसकेका छन् ।
बेरी नेपाल र दक्षिण एसियाली मामलामा राम्रो जानकार मानिन्छन् । कूटनीतिक सेवामा राम्रो काम गरेबापत उनले उत्कृष्ट र प्रतिष्ठित सम्मान समेत पाएका छन् । बेरी स्पेनिस र अरविक भाषामा राम्रो दख्खल राख्छन् ।
रेन्डी विलियम बेरी अमेरिकाको मध्ये पश्चिम राज्य कोलोराडोको हिलसाइडमा सन् १९६५मा जन्मिएका हुन् ।