अमेरिकाले मेक्सिकोसँगको आफ्नो सीमामा ५ हजार २ सय सेना पठाउने भएको छ । मध्य अमेरिकी देशका आप्रवासीहरु मेक्सिको हुँदै उत्तरतर्फ अघि बढिरहँदा पेन्टागनले तिनलाई रोक्न ठूलो संख्यामा सेना पठाउने तयारी गरेको हो ।
त्यहाँ यसअघि नै २ हजार १ सय राष्ट्रिय सुरक्षाका सदस्य परिचालित थिए । ट्रम्पको आग्रहपछि गत अप्रिलमा ती सदस्यलाई बोर्डरमा परिचालन गरिएको थियो । यसअघि ट्रम्पले आप्रवासीले आक्रमण गरे अमेरिकी सेनाले त्यसको प्रतिवाद गर्ने प्रतिक्रिया दिएका थिए ।
बीबीसीका अनुसार मेक्सिको भएर अघि बढिरहेका आप्रवासीहरु अमेरिकाबाट करिब १ हजार ६ सय किलोमिटरको दूरीमा छन् । ट्रम्पले सोमबार एक ट्वीट गर्दै अमेरिका प्रवेशका लागि अघि बढेको समूहमा आपराधिक समूह पनि रहेको बताएका छन् । उनले अमेरिका प्रवेश गर्न नदिइने प्रष्ट पार्दै वैधानिक बाटो अपनाएर मात्रै आउन आग्रह गरेका छन् ।
अमेरिकाको लागि अवैध आप्रवासी टाउको दुखाइको विषय बन्दै आइरहेको छ । आगामी नोभेम्बर ६ मा हुने निर्वाचनको परिणामलाई केन्द्रमा राखेर आप्रवासीको मुद्दालाई उठाएको आरोप पनि त्यहाँका राजनीतिक दलले एकअर्कालाई लगाएका छन् ।