आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाई तिहार गाईको पूजाआजा गरी मनाइएको छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाजस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो ।
हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । यो वर्ष आज नै गोरु तिहार पनि परेको छ । तिथिहरुको घटबढका कारण यो वर्ष गाई र गोरु तिहार एकैदिन परेको छ । हिन्दू धर्मावलम्बिहरुले आज धुमधामका साथ गाईको पूजा गरी गाई तिहार मनाएका छन् । गाई जगत जननी भएकाले पनि हिन्दू संस्कार अनुसार पूजा गर्ने गरिएको सर्वसाधारणहरु बताउँछन् । गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको सर्वसाधारणहरुको भनाई छ ।
आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको छ । आज नै तीन बजेपछि गोरु तिहार मनाइदैछ । आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।