काठमाडौं, ३ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनमा तालमेल गर्ने गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) बीच तालमेल भएपछि अर्काे सत्तारुढ दल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नमिठो प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै डा. भट्टराईले नेकपा–राजपा तालमेल दीर्घकालीन रणनीति नभएको दाबी गरेपनि दुवै पार्टीले सहमतिपत्रमै आगामी दिनमा समेत छलफल र सहकार्य गर्ने सहमति गरेका छन् ।
नेकपा–राजपा सहमति हुँदा समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनमा पराजय भोग्नुपर्ने निश्चित भएको छ । प्रदेश २ मा चार सदस्यका लागि हुने निर्वाचनमा दुवै दलले २–२ सिट बाँड्ने सहमति गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा पराजित हुने निश्चित भएपनि डा. बाबुरामले सम्हालिँदै यो सहमतिले सत्ता सहकार्यमा कुनै फरक नपार्ने आश्वस्त पार्न खोजेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रियसभाको निर्वाचनमा तालमेल भनेको विशुद्ध कार्यनीतिक र तत्कालीक मुद्दा हो । यसलाई दीर्घकालीन रणनीतिसँग जोडेर धेरै आशंका गर्नु उपयुक्त हुन्न । संविधान संशोधन जस्ता रणनीतिक मुद्दा मिल्ने शक्तिहरू एकतावद्ध हुनैपर्छ । नत्र दुईवटा बिरालाको झगडामा बाँदरले सबै रोटी खाइदिएजस्तो हुनसक्छ ।’