कोरोनाका नयाँ सङ्क्रमित सेती प्रादेशिक अस्पतालमा

कोरोनाका नयाँ सङ्क्रमित सेती प्रादेशिक अस्पतालमा
समाचार समाज स्वास्थ्य

कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पताल धनगढीमा आज एकजना सङ्क्रमित थपिएका छन् । योसँगै यो अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।

सो अस्पतालले आज अपराह्न सार्वजनिक गरेको सूचनामा अस्पतालमा उपचाररत पाँचैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ ।

आज मात्रै कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएका लम्कीचुहा नगरपालिका—१ की ५२ वर्षीया महिलालाई सेती प्रदेशिक अस्पतालमा दिउँसो पु¥याइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जाँचमा उनको नतिजा पोजेटिभ आएको हो । यसअघि उहाँको ¥यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ देखिएको थियो । यही चैत १८ गते उहाँ आफ्ना श्रीमान्, दुई नातिनातिनासहित वीरगञ्जबाट बसमार्फत कैलालीको लम्की पुग्नुभएको थियो । उनका छोराबुहारी भने भारतमा रहेको जनाइएको छ ।

बसबाट लम्की झरेका उहाँसमेत १७ जनालाई त्यसै दिन नजीकैको क्वारेन्टाइनमा राखिएको थियो । ¥यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ आएपछि चैत २९ गते उहाँहरुलाई घर फिर्ता गरिएको थियो ।

अस्पतालको सूचनामा हालसम्म अस्पतालबाट प्रयोगशाला जाँच गरिएकामध्ये कोभिड—१९ को पोजेटिभ पाँचजनामा देखिएको, ९८ जनाको नतिजा नेगेटिभ आएको र १९ जनाको नतिजा आउन बाँकी रहेको समेत उल्लेख गरिएको छ ।

शुरुमा दुबइबाट फर्किनुभएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय पुरुषमा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसको केही दिनपछि नजानिँदो ढङ्गले सम्पर्कमा आएकी उनकी ३४ वर्षीया भाउजूमा कोरोना देखिएको थियो ।

सोही दिन कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र कैलालीको लम्कीका अर्का पुरुषमा पनि कोरोना देखिएको पुष्टि भएकामा आज लम्कीका महिलामा कोरोना देखिएको पुष्टि भएको हो ।

सङ्क्रमितको संसर्गमा आउनेको खोजी

कोरोनाको सङ्क्रमण भएको पुष्टि भएकी लम्कीका महिलासँगै क्वारेन्टाइनमा बस्ने थप १६ जनालाई आज पुनः क्वारेन्टाइनमा राखिएको छ ।

सङ्क्रमितसँगै वीरगञ्जबाट एउटै बसमा आएकाहरुको पहिचान भई सम्बन्धित जिल्लालाई भनी सकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

सो बसमा आउने ३४ मध्ये सबैभन्दा बढी कैलाली २६, सुर्खेतका पाँच, दाङ, अर्घाखाँची र दैलेखका एक–एक जना रहेको बुझिएको जिल्ला प्रहरी प्रवक्ता बस्नेतले बताए ।

आज थप एकजनामा कोरोना भेटिएको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा यो रोगको रोकथाममा चुनौती थपिएको छ ।

बाहिरबाट आएका व्यक्तिको संसर्गबाट स्थानीय एकजना मात्र यो रोग देखिनु तर बढी सङ्ख्यामा बाहिरबाट भित्रिनेमा देखिँदा बाहिरबाट आउनेको निगरानी कडाइका साथ गर्न जरुरी रहेको स्थानीय शिक्षक लेखराज ओझा बताउछन्।

Post Comment