वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनका कारण बेखर्ची भएर काठमाण्डौंबाट हिँड्दै घरजाने क्रममा आज मकवानपुर आइपुगेका विभिन्न जिल्लाका पैदलयात्रीलाई आआफ्नो घरजाने व्यवस्था गरिदिएका छन् ।
उनल मकवानपुरको भीमफेदी आइपुगेका पैदलयात्रीलाई उनीहरुको गृहजिल्लासँगको समन्वयमा घर पठाउने व्यवस्था मिलाएका हुन् । अलपत्र परेका पैदलयात्रीलाई व्यवस्थापन गर्न तथा खाना खुवाउन दुम्की रक्स नामक एक संस्थाद्वारा तयार पारिएको शिविरमै पुगेर मुख्यमन्त्री पौडेलले पैदलयात्रीसँग कुराकानीसमेत गरे ।
सो अवसरमा उहाँले प्रदेश सरकारले अलपत्र परेका सबै यात्रुको मानवीय ढङ्गमा व्यवस्थापन गर्ने बताए । पौडेलले यात्रुसँग कुराकानी गर्दै विभिन्न सुझावसमेत दिए । उनले अब घर फर्केर कृषि उत्पादनमा लाग्न सल्लाहसमेत दिए ।
सो अवसरमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकार मानवताको पक्षमा रहेको बताए । उनले अलपत्र परेका यात्रुहरुसँग काठमाण्डौं छाड्नुपर्ने कारणका बारेमा सोध्नुभएको थियो । जवाफमा कतिपय यात्रुले काम नभएको, आफूहरुसँग भएको खर्च सकिएको तथा मजदूर भएका कारण प्राप्त राहत अपुग भएकाले घर फर्कनुपरेको बताएका थिए ।
काठमाण्डौंबाट पैदलयात्राका क्रममा भीमफेदी आइपुगेका यात्रुका लागि स्थानीय दम्की रक्स भीमफेदी नामक संस्थाले खाना खाने तथा बास बस्ने व्यवस्थासमेत गरेको स्थानीय पत्रकार सुरेन्द्र थिकेले जानकारी दिए ।
यसैबीच सर्लाही जाने पाँच जनाको टोलीलाई गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफ्नो गाडीमा राखेर पथलैयासम्म पठाएका थिए ।
पथलैयामा आफ्ना नागरिकलाई लिन सर्लाहीको हरीवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले गाडी पठाएका थिए । हरिवनका नगर प्रमुख प्रसाईलाई मुख्यमन्त्री पौडेलले टेलिफोन गरेर गाडी पठाउन भएको अध्यक्ष लामाले जानकारी दिए ।
नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि काठमाडौँमा खान समस्या पर्न थालेपछि घर हिँडेको मजदूरले बताएका छन् । घर जान उनीहरु बिहान ५ः०० बजे काठमाडौँबाट हिँडेर अपराह्न करीब ४ः०० बजे भिमफेदी आईपुगेका थिए । उनीहरुलाई गाउँपालिकाले दम्की रक्स क्लबको समन्वयमा खानाको व्यवस्था गरेको छ ।
लकडाउनका कारण हिँडेर आएर अलपत्र परेका सबै पैदल यात्रुलाई खानाको व्यवस्था गरेर गन्तव्यमा पु-याइने लामाले जानकारी दिए ।
यात्रुको उद्धारमा मुख्यमन्त्री पौडेलसँग समन्वय गर्नुभएका अध्यक्ष लामाले अलपत्र यात्रुलाई खानपिन र बास बस्ने व्यवस्थाका लागि भएको सम्पूर्ण खर्च भीमफेदी गाउँपालिकाले व्यहोर्ने बताए ।