लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको छ ।
प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा उक्त गीतले तरङ्ग ल्याएको छ ।
गीतमा प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको छ । काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेकाे जस्ता शब्द गीतमा प्रयाेग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे छलफल चलेकाे स्रोतले बतायो । यो गीतका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समेत छलफल भएको स्रोतले बतायो ।
गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ ।