काठमाडौँ, २४ मङ्सिर । अन्तरपार्टी महिला सञ्जालको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।
विभिन्न राजनीतिक दलका नेताले संयुक्तरुपमा राष्ट्रिय नाचघरमा उद्घाटन गर्नुभएको सो सम्मेलन यही मङ्सिर २६ गतेसम्म जारी रहने छ । सम्मेलनले राज्यका नीति निर्माण र निर्णय तहमा महिलाहरुको अर्थपूर्ण सहभागिता गराउने विषयमा छलफल गर्ने छ ।
कार्यक्रममा एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले महिलामैत्री संविधान निर्माण गरी महिला हिंसाबाट पीडितहरुलाई न्याय दिनसक्नुपर्ने बताउनुभयो ।उहाँले महिलालगायत सबैले आ–आफ्ना अधिकार प्राप्तिका लागि सङ्घर्ष गरिरहेको अहिलेको अवस्थामा राजनीतिक परिवर्तनको अनुभूत हुने गरी संविधान निर्माण गर्नुपर्छ भन्नुभयो ।
ऊर्जामन्त्री राधा ज्ञवालीले यो सम्मेलनमा महिला सशक्तीकरणका विभिन्न मुद्दामा छलफल भएर पारित भएपछि नियम बनाउन फेरि विभिन्न दलसमक्ष जानुपर्ने भएकाले शीर्षस्थ नेताको प्रतिबद्धता आउनुपर्ने खाँचो औँल्याउनुभयो ।महिला, बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसीले महिला वर्ग जुनसुकै राजनीतिक विचारबाट प्रेरित रहेपनि महिला ज्यादतीकाविरुद्ध एकजुट हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणा, नेकपा (माले)का महासचिव सिपी मैनाली, नेकपा–माअेवादीका प्रवक्ता पम्फा भुसाल, नेकपा(संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशी, मधेस राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, महिला आयोगका अध्यक्ष शेषचाँद तारालगायतले सम्मेलनको सफलताका लागि शुभकामना दिँदै समावेशी प्रतिनिधित्व र सम्पत्तिमाथि महिलाको अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
सञ्जालका अध्यक्ष मीना पाण्डेले निर्धारित समयमा संविधान निर्माणको काम पूरा गर्न सकारात्मक भूमिका खेल्ने उद्देश्यले सञ्जालले ‘हाम्रो अभियान महिलामैत्री संविधान’ भन्ने नाराका साथ सम्मेलनको आयोजना गरेको बताउनुभयो ।सम्मेलनमा देशका ७५ जिल्लाबाट करिब ४५० प्रतिनिधि सहभागी छन् । रासस