दश वर्षपछि नाम्सको दोस्रो दीक्षान्त समारोह आयोजित

बुधबार , भाद्र १, २०७९
भर्खरै

काठमाडौँ, १ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)ले दश वर्षपछि दोस्रो दीक्षान्त समारोहको आयोजना गरेको छ ।

नाम्सद्वारा आज यहाँ आयोजित विशेष समारोहमा ७९१ जना नाम्सका विद्यार्थीहरू दीक्षित भएका हुन् ।प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री सुशील कोइरालाले डाक्टर अफ मेडिसिन (डिएम) मा १४ जना, एमडी÷एमएस÷एमडिएसतर्फका ६०६ जना र पिबिबिएनका १७१ जनालाई दीक्षान्त प्रदान गर्नुभएको हो ।

प्रतिष्ठानको प्राज्ञिक परिषद्ले तोकेबमोजिम सम्बन्धित तहको प्रतिष्ठानबाट लिइने परीक्षाका आवश्यक सर्तहरू पूरा गरी २०७१ कात्तिक २१ गतेसम्ममा उक्त तह उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन् ।प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री सुशील कोइरालाले शान्ति, स्थायित्व, लोकतान्त्रिक संविधान र विकासलाई अगाडि बढाउनु आजको मुख्य आवश्यकता भएकाले त्यस कार्यमा सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।उहाँले चिकित्सा क्षेत्रले अनुशासनलाई सदा विश्वास गर्नुपर्ने बताउँदै परोपकारको यस व्यवसायलाई गलत तवरले प्रयोग नगर्न सल्लाह दिनुभयो ।

प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “अनुशासनको अभाव समाजको मुख्य समस्या हो, सार्वजनिक क्षेत्रको सुधार गर्न नसक्नु हाम्रो कमजोरी हो, चिकित्सा क्षेत्रका विकृतिलाई पनि निराकरण गर्नुपर्छ ।”सरकारी अस्पतालको सेवा सुविधामा स्तरोन्नति गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सेवास्तर बढाएर देशभरका अस्पतालको स्तरोन्नति गर्नुपर्छ, त्यसो गर्न सकेमात्र निजी क्षेत्रमा खुलेका अस्पतालको शुल्क घट्छ र जनताले स्वास्थ्य सेवा प्राप्त गर्छन् ।”

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवालाई विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले गाउँमा चिकित्सकका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्था गर्न सरकारले पहल गर्ने बताउनुभयो ।सो अवसरमा कार्यक्रमका प्रमूख अतिथि डा दिनेशनाथ गोंगलले अनुशासित भएर देश र जनताको सेवामा लाग्नुपर्नेमा जोड दिँदै विभिन्न आशामा अन्य देशमा पलायन नहुन आग्रह गर्नुभयो ।

स्वास्थ्य क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएकाले सरकारी अस्पतालले गुणस्तरीय सेवा प्रदान गरेर विश्वसनियता हासिल गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारले सरकारी अस्पतालको स्तरोन्नतिका लागि आधुनिक प्रविधि ल्याउन सहयोग गर्नुपर्ने बताउनुभयो ।प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले उच्चशिक्षा प्राप्त गर्ने सबै चिकित्सकले जनताको सेवालाई मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिँदै देशका ग्रामीण क्षेत्रमा पुगेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले पहल गरिरहेको उल्लेख गर्दै पारदर्शी भएर देशभरका सरकारी अस्पतालको सेवास्तरमा सुधारका लागि आवश्यक कदम चालिने धारणा राख्नुभयो ।

प्रतिष्ठानका उपकुलपति प्रा डा गणेशबहादुर गुरुङले वीर अस्पतालको पूर्वाधार, अस्पतालको शैय्या क्षमता तथा मानव स्रोतसाधन र गुणस्तरीय स्वास्थ्य सेवालाई विशेष जोड दिने उल्लेख गर्नुभयो ।दीक्षित ७९१ विद्यार्थीमध्ये २२७ जनाले पूर्ण सरकारी छात्रवृत्ति प्राप्त गरेका थिए ।

Post Comment