काठमाडौँ, ८ पुस । एकातर्फबाट कार्ड घुस्यारो अर्काे तर्फबाट पैसा निकाल्यो अर्थात् एटिएमबाट पैसा निकालेको जस्तो हो अहिलेको जीवन ?कसरी बुझ्ने जीवनलाई ? अनि फास्टफुड जस्तो हो त जीवन ? कसरी जीउने जीवनलाई ? आ–आफ्नै कला र व्याख्या होलान् ।
नेपाली राजनीतिका चर्चित नेता कृष्णप्रसाद भट्टराईको जीवन जीउने कला कस्तो रह्यो होला ? आम रुपमा उहाँप्रति उत्सुकता र श्रद्धा गहिरो छ । राजनीति, पत्रकारिता, कलाकारिता विधाको आ–आफ्नै शैली छ, उहाँका जीवनलाई अनन्तसम्म सम्झिरहने ।
वरिष्ठ कलाकार रागिनी उपाध्यायले सुराही, छाता र ट््याङ्कालाई दुई मिनेटका बीचमा क्यानभासमा उतार्नुभयो । मैले किसुनजीलाई बुझेको यति नै हो, गम्भीर भावमा उहाँले भन्नुभयो ।
प्रसङ्ग थियो – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा संयुक्तरुपमा आज नक्सालमा आयोजित “रङ्गमा किसुनजी” कला गोष्ठीको ।बिहानको सूर्याेदयसँगै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिसमेत रहनुभएका कलाकार उपाध्याय आफ्ना सहकर्मीलाई जम्मा पारेर आफ्नै कार्यालयको छतमा ब्रुस र रङ लिएर उक्लनुभएको थियो । कलाले बुझेको किसुनजीलाई त्यहाँ उपस्थित कलाकारले रङ र ब्रुसलाई माध्यम बनाई कलाकृतिमा ढालेका थिए ।नेपाली राजनीतिमा सन्त नेताका रुपमा सुपरिचित कृष्णप्रसाद भट्टराईको ९१ आँै जन्मोत्सवका अवसरमा ती दुई संस्थाले संयुक्त रुपमा ‘रङ्गमा किसुनजी’ र ‘तस्बिरमा किसुनजी’ नामक तस्बिर प्रदर्शनीको आयोजना गरेका हुन् ।
दुईदिने सो प्रदर्शनीमा कलाकार अनिल श्रेष्ठ, विवेक मुकारुङ, एरिना ताम्राकार, लालकाजी गुरुङ, उमेश श्रेष्ठ, रमेश श्रेष्ठ, धनबहादुर याख्या, सुष्मा राजभण्डारी, विनोद भण्डारीलगायतले किसुनजीका बारेमा क्यानभासमा तयार पारेका चित्र रहनेछन् ।साथै, विभिन्न खण्डका क्यामराले खिचेका तस्बिर पनि प्रदर्शनीमा रहेका छन् । रङहरुमा किसुनजीका संयोजक कलाकार रमेश श्रेष्ठले भन्नुभयो, “जे कर्म गरिन्छ, त्यही फल प्राप्ति हुन्छ । किसुनजीको जीवन अहिलेको जस्तो ‘मै लाऊँ मै मात्र खाऊँ’ भन्ने थिएन । जे लिएर आउनुभयो त्यही छाडेर जानुभयो ।”
साथै, तस्बिरमा किसुनजीका ऐतिहासिक तस्बिरहरु रहेका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठले भन्नुभयो छाता, सुराही र ट्याङ्काले जीवन चलाउने प्रवृत्ति समाजमा जाग्नुपर्छ । “सादा जीवन उच्च विचार मुखमा होइन व्यवहारमा उतार्न किसुनजीबाट शिक्षा लिनुपर्छ ।” रासस