बाबियाचौर (म्याग्दी), ९ पुस । नेपाली सेनाले म्याग्दीको पात्लेखेत गाविस– ३ मा मङ्गलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३७० जना सर्वसाधारण लाभान्वित भएका छन् ।
सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङअन्तर्गतको फिए गुल्मको सहयोगमा इन्द्रबक्स गण म्याग्दीको आयोजनामा सञ्चालित शिविरबाट १५९ महिला, १२३ बालबालिका र ८८ पुरुषले सेवा लिएका छन् ।पात्लेखेत, झिँ, घतान र पाखापानी गाविसका सर्वसाधारणलाई स्वास्थ्य परीक्षण, परामर्शका साथै निःशुल्क औषधि पनि वितरण गरिएको इन्द्रबक्स गण म्याग्दीले जनाएको छ ।
ग्रामीण क्षेत्रका बासिन्दालाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा २३ नम्बर गुल्मका सरोजराज केसी, निलगिरि अस्पताल बागलुङका चिकित्सक गोविन्द गौतम र स्त्री तथा प्रसूति विशेषज्ञ चिकित्सक लक्ष्मी आचार्य गौतमले सेवा दिनुभएको थियो । रासस