भक्तपुर, १३ पुस । मध्यपुर थिमिस्थित यचु पार्टी भेन्यूले यस वर्षको ‘गङ्गा प्याब्सन गौरव सम्मान’ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगलाई सम्मान गरेको छ ।
भेन्यूले आज यहाँ आयोजना गरेको कार्यक्रममा भक्तपुर प्याब्सनका अध्यक्ष राजकुमार महर्जनले साहित्यकार ग्वगंलाई नगद छ हजार सहित सम्मानपत्र प्रदान गर्नुभयो ।सामाजिक कार्यमा पनि सहभागिता जनाउँदै आएको भेन्यूले स्वर्गीय गङ्गालाल श्रेष्ठको स्मृतिमा गत वर्षदेखि शिक्षा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा पुरस्कारका दाता तथा भेन्यूका सञ्चालक नवीनप्रकाश श्रेष्ठले आगामी वर्षदेखि पुरस्कारको रकम वृद्धि गरी रु ११ हजार १११ पुर्याउने घोषणा गर्नुभयो । रासस