बागलुङ, १३ पुस । परिवारको साथ गुमाएर वर्षौंदेखि सडकमा अलपत्र यहाँका एक बालकले संरक्षण पाएका छन् । घर ठेगाना नखुलेका अन्दाजी सात वर्षका ‘कुशल’ भनिने बालकलाई काठमाडौँस्थित एक बालगृहले उद्धार गरेको हो ।
यसअघि दयनीय अवस्थामा रहेका बालकलाई घरमा ल्याएर बागलुङ नगरपालिका–२ का एक दम्पतीले अस्थायी आश्रय दिएका थिए ।
तिनै बालक र आश्रय दिने हीरामणि सुवेदी र लक्ष्मी पौडेलका बारेमा राससले गत मङ्सिर १४ गते समाचार सम्प्रेषण गरेको थियो । ‘सडकबाट घरमा आए कुशल’ शीर्षकको राससको समाचार हिमालय टाइम्समा छापिएपछि बूढानीलकण्ठस्थित नेपाल आत्महत्या रोकथाम एवम् मानसिक स्वास्थ्य अनुसन्धान केन्द्रले चलाएको बालगृहले बालक संरक्षक दिन तयार भएको हो ।
अस्थायी आश्रय दिएका सुवेदी दम्पतीले पनि स्थायी हिसाबले बालगृह वा कुनै संस्थालाई बालक जिम्मा लगाउन चाहेका थिए । राससले सोही आशयमा समाचार बनाएको थियो । सडकमा देख्ने र चिन्नेले ती बालकको घर बागलुङ नगरपालिका–८ भिरलाङ्खुरी हो भनी बताउनेसम्म गरे पनि कसैले उद्धार या पुनःस्थापनाका लागि प्रयास गरेका थिएनन् ।
सुनिएअनुसार आमा दोस्रो विवाह गरेर अन्यत्रै गएको र बुबाले बेवास्ता गरेपछि ‘कुशल’ सडकमा आएका थिए ।दुई-तीन वर्षकै उमेरदेखि उनी सडकमा भौँतारिने गरेको पहिले आश्रय दिनुभएका हीरामणिले बताउनुभयो । “त्यो बाबु पहिले सडकपेटीमा रात बिताउँथ्यो, भोकभोकै डुल्थ्यो, बिमारले थलिएको थियो,” सुवेदीले भन्नुभयो, “एउटा बालकको त्यो अवस्था देख्न नसकेर हामीले घरमा ल्याएका हौंँ, चार महिनाजति हामीसँगै बस्यो ।” बालगृहले संरक्षण दिएपछि आफूहरू पनि धेरै खुसी भएको सुवेदीको भनाइ छ ।
सुवेदी दम्पतीले गत दसैँअघि ‘कुशल’ लाई घरमा ल्याई लालनपालन र पढ्न विद्यालयसमेत पठाएका थिए । कलिलैमा बेसहारा बनेका बालकको ‘कुशल’ नामसमेत पौडेल पत्नी लक्ष्मीले राखिदिनुभएको हो । उहाँले त मायाले ‘कालु’ समेत भनेर बोलाउनुहुन्थ्यो । बालकको घर, ठेगाना, नाम, थरसमेत केही पत्तो नलागेपछि ‘कुशल’ नेपाली भनेर नाम राखिदिएको उहाँहरूको भनाइ छ ।
‘कुशल’ अहिले बालगृह पुगिसकेका छन् । “बालक विद्यालय जान थालिसकेका छन्, उनको सुरक्षित भविष्य निर्माणका लागि सम्पूर्ण वातावरण हामी दिन्छौँ,” बालगृह प्रमुख प्रेम परियारले भन्नुभयो । बालगृह आएको केही दिनमै हेरचाहकर्मी र अन्य बालबालिकासँग ‘कुशल’ घुलमिल भएको परियारले बताउनुभयो ।
“राससले समाचार दिएकै कारण आज यो परोपकारी कार्य सम्भव भएको छ, यसबाट हामी पनि ज्यादै खुसी छौैँ, सामाजिक उत्तरदायित्वको यो राम्रो उदाहरण हो,” परियारले भन्नुभयो । तालिम प्राप्त हेरचाहकर्मी राखेर बालगृह सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । बालगृहमा मनोसामाजिक परामर्शका लागि परामर्शकर्ता पनि छन् ।
परियारको सिङ्गो परिवार नै बालगृह सञ्चालनमा सक्रिय छ । त्यस्तै, आत्महत्या रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने कार्यमा संस्था संलग्न छ । मानसिक स्वास्थ्य अनुसन्धान केन्द्रका रूपमा पनि सेवा दिइरहेको संस्थाका अध्यक्षसमेत रहनुभएका परियारले बताउनुभयो ।
पढेर ठूलो मान्छे बन्ने धोको सुनाउने ‘कुशल’ पढाइसँगै बानी व्यवहारमा पनि निकै टाठा र आज्ञाकारी छन् । रासस