काठमाडौँ, १३ पुस । संयुक्त विद्यार्थी सङ्गठनले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न दबाब दिने उद्देश्यले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा ‘सडक बहस कार्यक्रम’ गरेको छ ।
कार्यक्रममा नेपाल बार एसोसियसनका हरिकृष्ण कार्कीले संविधान नआउने खतरा रहेकाले निरन्तर सडकबाट दबाब दिनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले नागरिकलाई बलियो बनाउने संविधान छिटो ल्याउन माग गर्दै संविधान नबनुन्जेल सडक तताउन सबैलाई आग्रह गर्नुभयो ।
शान्ति र प्रजातन्त्रका लागि पेसागत सञ्जाल (पापड)का अध्यक्ष डा अञ्जनीकुमार झाले नेताहरूले समयमा संविधान जारी गर्न आनाकानी गरिरहेको आरोप लगाउँदै नागरिकस्तरबाट सशक्त दबाब दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अनेरास्ववियु, नेविसङ्घ र अखिल (क्रान्तिकारी)लगायत प्रमुख विद्यार्थी सङ्गठनको सहभागिता थियो । सो अवसरमा कलाकार बद्री पङ्गेनी, शिशिर योगी, हास्यकलाकार श्रीकृष्ण सिङ्खडाले आआफ्नो प्रस्तुतिमार्फत छिटो संविधान ल्याउन दलहरूको ध्यानाकर्षण गराउनुभएको थियो । रासस