कास्की, १४ पुस । चित्रलाई कुची र रङको मात्र सम्मिश्रण ठान्नुहुन्छ भने पक्कै तपाईँ भ्रममा हुनुहुन्छ । चित्र बनाउन दिमाग मात्र हैन, सुन्दर मन पनि चाहिन्छ ।
पोखराको पोखरा आर्ट ग्यालरीमा आजदेखि सुरु भएको चिनियाँ चित्रकला प्रदर्शनीमा राखिएका चित्र हेर्ने हो भने अझ अगाडि बढेर भन्न मन लाग्छ–चित्र बनाउन मेहनत पनि बढी नै चाहिन्छ ।चीनको ग्वाङ्जाओ नगरका कलाकारले चित्रमा सिर्जनशीलता मात्र होइन, मेहनत पनि खन्याएका छन् । सामान्य जनजीवन, भूदृश्य, व्यक्ति चित्र, चिनियाँ संस्कृति र जनावरका चित्र हेरिरहुँ जस्ता मात्र छैनन्, नेपाली चित्रकारको लागि नौलो विषय पनि बनेका छन् ।
“चलाएको त पानी रङ नै हो, तर मेहनत असाध्यै बढी छ”, पोखराका वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थले चित्रकला अवलोकनपछि भन्नुभयो, “चित्रमा साना साना कुरा पनि उतार्नु आफैँमा मिहिन काम हो ।” चीनको ग्वाङ्जाओ नगरका वरिष्ठ कलाकार वेन जाओवीको नेतृत्वमा आएको १० कलाकारको टोलीले सिर्जना गरेका सबै २९ चित्र आकर्षक लागेको उहाँले बताउनुभयो ।
चिनियाँ कलाकारले चित्रपटमा पोतेका रङ भने पानी रङ नै हो । तर उनीहरूको सिर्जनामा बढी मेहनत भेटिएको अर्का कलाकार केदार पालिखेको धारणा छ । लु हेन्लीले नै बनाएको व्यक्ति चित्र प्रदर्शनीमा छिर्नेहरूको भिड लागेको छ । उनका दुई चित्रमा कपालका साना साना रौँ पनि पर्गेलिएको छ । सामान्यतयाः कपालको केस्रा केस्रा छुट्याउनु गाह्रो काम भएको कलाकार कायस्थको धारणा छ ।
प्रदर्शनीमा राखिएका चित्रमा मुसा, बिराला, कुकरजस्ता जनावरदेखि प्रेमालापमा लिप्त चरासमेत छन् । प्रकृति र जीवनलाई जोड्दै केही चित्रमा दैनिक जीवनमा गधा चढेको, घर घरमा सामान पुर्याउन हिँडेका पथिकका चित्र पनि छन् ।कलाकार सु जीको दाह्री काट्दै गरेको हजाम, ऊ जिकोङको फूल र छायाको अद्भूत सङ्गम भएको मनमोहक चित्र र वसन्त ऋतुको ग्वाङ्जाओ सहरको दृष्यचित्र लोभलाग्दा छन् ।
पोखरा र चीनको ग्वाङ्जाओ नगरबीच गत मङ्सिरमा भगिनी सम्बन्ध स्थापना भएपछि साँस्कृतिक आदानप्रदानको सिलसिलामा पोखरामा सो प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीले पोखराका जलरङमा काम गर्नेहरूलाई प्रेरणा मिलेको नेपाल चीन जनमैत्री सङ्घका अध्यक्ष विश्वशङ्कर पलिखेले बताउनुभयो ।पोखरामा पनि पानी रङ चलाउने कलाकार धेरै छन् । । वरिष्ठ कलाकार दुर्गा बरालका धेरैजसो सिर्जना पानी रङका नै छन् । यद्यपि यहाँ एक्रेलिक रङ चलाउनेको पनि कमी नभएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठ बताउनुहुन्छ ।
ग्वाङ्जाओ साँस्कृतिक केन्द्रको आयोजनमा ‘लिगान कल्चरल जर्नी टु द वेस्ट’ नाम दिइएको प्रदर्शनीलाई पोखरा उपमहानगरपालिका र नेपाल चीन जनमैत्री सङ्घले सघाएका छन् । प्रदर्शनी यही पुस १८ गतेसम्म चल्नेछ । रासस